Banijya News

एमसिसी अनुदानले निरन्तरता पाउने ‘ग्रिन सिग्नल’, त्रैमासिक कार्ययोजना तयार पार्दै नेपाल

1
1.1K Shares

अनुदान स्थगन कायमै रहेका बेला मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) सँग आगामी त्रैमास (जुलाई–सेप्टेम्बर) का लागि लागतसहितको कार्ययोजना माग गरेको छ । गत साता इमेलमार्फत कार्ययोजना माग गर्दै एमसिसीले सो कार्ययोजना प्राप्त भएपछि भुक्तानी प्रक्रिया अगाडि बढाउने संकेत दिएको स्रोतले जनाएको छ ।

एमसिसीको उक्त आग्रहसँगै अनुदान निरन्तरतर्फ संकेत देखिएको छ । एमसिए नेपालले त्रैमासिक कार्ययोजना निर्माण प्रक्रिया सुरु गरिसकेको र चाँडै अमेरिका पठाउने तयारी भइरहेको जनाएको छ ।

यसबीच, सरकारले एमसिसी परियोजनाका लागि आगामी आर्थिक वर्षका लागि ८ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ, जसमा २ अर्ब ७७ करोड ८४ लाख रुपैयाँ सरकार स्वयंले व्यहोर्नेछ भने बाँकी ५ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ एमसिसीबाट आउने अनुमान गरिएको छ । बजेट स्रोत पुस्तिकामै यो उल्लेख गरिएको छ।

यद्यपि, अनुदान स्थगनको औपचारिक निर्णय अझै सार्वजनिक भइसकेको छैन । २० जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विदेशी सहायता ९० दिनका लागि स्थगन गर्ने कार्यकारी आदेश जारी गरेपछि नेपालमा पनि असर परेको थियो । २ फागुनमा एमसिसीले स्थगनको जानकारी दिए पनि त्यसयता निरन्तरता वा बन्दबारे कुनै आधिकारिक सूचना आएको छैन । पछिल्लोपटक १९ मेमा निर्णय दिने भनिए पनि जानकारी आइनसकेको अवस्थामा त्रैमासिक कार्ययोजना माग्नु सकारात्मक संकेतको रूपमा हेरिएको छ ।

यसअघि, मार्चको तेस्रो साता एमसिसीले एमसिए नेपाललाई खरिद र कार्यालय सञ्चालन कार्यका लागि अनुमति दिँदै रकमसमेत उपलब्ध गराएको थियो ।

एमसिसी अनुदानअन्तर्गत ४०० केभी क्षमताका ३१५ किमि प्रसारण लाइन, तीन वटा सबस्टेसन तथा पूर्व–पश्चिम राजमार्गको ४० किमि सडकखण्डको मर्मत समेटिएको छ । हालसम्म न्यू बुटवल–नेपाल भारत सीमापार प्रसारण लाइन र तीन सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ भने अन्य प्रसारण लाइन र सडक मर्मतका लागि खरिद प्रक्रिया अघि बढिसकेको छ ।

रायटर्स समाचार संस्था अनुसार अमेरिकाले अन्य देशको एमसिसी सहायता रोके पनि नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोस्टलाई भने निरन्तरता दिने तयारी गरेको उल्लेख गरिएको छ ।

1

Scroll to Top