लघुबीमा कम्पनीहरूको आक्रामक विस्तारसँगै ठूला बीमा कम्पनीहरूको लघुबीमा व्यवसायमा गिरावट आएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ठूला बीमकहरूले लघुबीमा मार्फत १ अर्ब ८६ करोड २३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.५८ प्रतिशतले कम हो।
अघिल्लो आवको सोही अवधिमा उनीहरूले २ अर्ब १८ करोड ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए। यस अवधिमा जीवन बीमकहरूको लघुबीमा व्यवसाय १४.६० प्रतिशत र निर्जीवन बीमकहरूको १२.६० प्रतिशतले घटेको देखिएको छ।
हाल १२ जीवन बीमक र ११ निर्जीवन बीमकले लघुबीमा व्यवसाय गर्दै आए पनि चालु आवमा केवल ६ निर्जीवन बीमकले मात्र लघुबीमा कारोबार गरेका छन्। लघुबीमा कम्पनीलाई दिइएको लाइसेन्सले ठूला बीमकहरूको बजार हिस्सा घटाएको विश्लेषण गरिएको छ।
नेपाल बीमा प्राधिकरणले तोकेको लक्ष्य पूरा नगरेपछि लघुबीमाको छुट्टै लाइसेन्स प्रदान गरिएको थियो। सोहीबमोजिम गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ गरी तीन लघु जीवन बीमा र नेपाल माइक्रो, प्रोटेक्टिभ, स्टार माइक्रो र ट्रस्ट माइक्रो गरी चार निर्जीवन लघु बीमा कम्पनी सञ्चालनमा छन्।
लघुबीमा कम्पनीहरूले चालु आवको १० महिनामा १ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४९१.४३ प्रतिशतले वृद्धि हो। गत आवको सोही अवधिमा उनीहरूले २९ करोड ५८ लाख रुपैयाँ मात्रै संकलन गरेका थिए।
तर, लघुबीमा कम्पनीहरू पनि शहरी बजारतर्फ केन्द्रित हुँदै जान थालेका छन्। प्राधिकरणले निर्धन तथा न्यून आय भएका वर्गलाई लक्षित गरी लघुबीमा लाइसेन्स दिएको भए पनि ग्रामिण क्षेत्रभन्दा शहरी बजारमा शाखा विस्तार भएको देखिन्छ।
यता ठूला बीमकहरू त झन् ग्रामिण क्षेत्रको बीमा व्यवसायबाट पछि हटेका छन्। बीमा प्राधिकरणको तथ्यांकले पनि ग्रामिण क्षेत्रमा उनीहरूको उपस्थिति कमजोर भएको देखाएको छ। यही सन्दर्भमा सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत बीमा कम्पनीलाई ग्रामिण पहुँच विस्तार गर्न निर्देशन दिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा प्राकृतिक विपद् र दुर्घटनाबाट हुने क्षतिबाट बच्न सम्पत्ति बीमाको दायरा विस्तार गर्दै ग्रामिण क्षेत्रसम्म सेवा पुर्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका थिए।


