नेपालमा जीवन बिमाको पहुँच हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २०७८ सालको वैशाख मसान्तसम्म देशभर ४७.३९ प्रतिशत नागरिक जीवन बिमाको पहुँचमा छन् ।
प्राधिकरणका अनुसार हालसम्म एक करोड ५३ लाख ६ हजार ९३३ वटा जीवन बिमालेख सक्रिय छन् । यो अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । २०७७ सालको वैशाखसम्म सक्रिय बिमालेख संख्या एक करोड ३९ लाख ५५ हजार ८८७ थियो । त्यतिबेला बिमाको पहुँच ४३.५६ प्रतिशतमा सीमित थियो ।
कतिपय व्यक्तिले दुई वा बढी बिमालेख लिएका हुँदा, कुल सक्रिय बिमालेखमध्ये ५ प्रतिशत घटाएर वास्तविक बिमा पहुँच गणना गरिन्छ । सोही आधारमा वर्तमान बिमा पहुँच ४७.३९ प्रतिशत रहेको हो, जुन हालसम्मकै उच्च दर हो ।
२०७८ असारमा बिमा पहुँच ४४.३८ प्रतिशत पुगेर नयाँ रेकर्ड कायम भएको थियो । तर त्यसपछि क्रमशः घट्दै गइरहेको बिमा पहुँच असोजसम्ममा ४२.८४ प्रतिशतमा झरेको थियो । आर्थिक शिथिलताले यसमा असर गरेको बताइएको छ । यद्यपि, कात्तिकयता पुनः वृद्धिको क्रम सुरु भई चैतमा बिमा पहुँच ४४.६४ प्रतिशत पुगेको थियो भने वैशाखमा ४७.३९ प्रतिशतमा उक्लिएको छ ।
म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बिमाबाहेकको अवस्थामा बिमा पहुँच १६.७७ प्रतिशत देखिएको छ । वैदेशिक रोजगार बिमालाई हटाएर हेर्दा ३९.३१ प्रतिशत नागरिक बिमाको पहुँचमा छन् ।
प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ मा बिमा पहुँच ५० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । तर, हालको वृद्धिदर हेर्दा असार मसान्तसम्म त्यो लक्ष्य पूरा हुन कठिन देखिएको प्राधिकरण स्रोत बताउँछ ।
हाल १२ लाख ५४ हजार ४७८ वटा जीवन बिमालेख नवीकरण हुन बाँकी रहेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११.६३ प्रतिशतले बढी हो । रकमको हिसाबले २६ अर्ब ८६ करोड १० लाख रुपैयाँबराबरको बिमालेख नवीकरण हुन बाँकी छ ।
यसै अवधिमा ८८ हजार ६३५ वटा बिमालेख सरेन्डर भएका छन्, जसको कुल रकम १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बराबर रहेको छ । अघिल्लो वर्षको तुलनामा सरेन्डर रकम ११.७० प्रतिशतले बढी हो ।


