यति एयरलायन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पाको लगानीमा सञ्चालित मुस्ताङ माउन्टेन होम लिमिटेडले सन् २०२५ को पहिलो ६ महिनामा ७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ।
मुस्ताङ जिल्लाको मार्फास्थित लक्जरी रिसोर्टले सन् २०२४ मा ७ करोड ६० लाख र सन् २०२३ मा १ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। सन् २०१४ मा स्थापना भएको यो रिसोर्ट सन् २०२३ मा पब्लिक कम्पनीको रूपमा रूपान्तरण गरिएको हो।
३५ हजार १०३ स्क्वायरफिट क्षेत्रफलमा फैलिएको रिसोर्टमा २९ वटा सुइट रुमसहित विविध सुविधाहरू उपलब्ध छन्। सन् २०२३ को डिसेम्बरदेखि “शिन्तामनी मुस्ताङ” नाममा सञ्चालनमा ल्याइएको रिसोर्टमा १ अर्ब १६ करोड ८० लाख रुपैयाँको लगानी भएको छ।
शिन्तामनी फ्रेन्चाइजमार्फत अन्तर्राष्ट्रिय स्तरको सेवा दिने उद्देश्यसहित कम्पनीले थाइल्याण्डको बैंककस्थित ब्रान्ड “शिन्तामनी” भित्र्याएको हो, जुन नेपालसहित अन्य मुलुकहरूमा पनि सेवा प्रदान गर्दै आएको छ।


