नेपालमा भूउपयोग नियमावली, २०७९ जारी भएको तीन वर्ष बितिसक्दा पनि मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये केवल २ सय ५३ पालिकाले मात्र जग्गाको पूर्ण वर्गीकरण सम्पन्न गरेका छन्। बाँकी ५ सय पालिकाले आगामी २०८२ असारसम्म यो कार्य पूरा नगरे कित्ताकाटलगायत जग्गा प्रशासनसम्बन्धी काम पुनः ठप्प हुने खतरा रहेको छ। यसअघि २०८१ भदौमा पनि ६ सय २० पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगर्दा कित्ताकाटसहितका काम ठप्प भएका थिए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार हालसम्म २ सय ५३ पालिकाले आफ्नो क्षेत्रभित्रका जग्गालाई कृषि, आवासीय, व्यावसायिक लगायतका वर्गमा छुट्याएर पूर्ण वर्गीकरण गरेका छन्। मन्त्रालयका प्रवक्ता गणेश भट्टका अनुसार १ सय ५३ पालिकाले आधार र मापदण्ड तयार गरी नक्सा अद्यावधिक गरेर कित्तागत विवरण तयार गरिरहेका छन्। यी पालिकाले असारसम्म वर्गीकरण नसके जग्गा प्रशासनसम्बन्धी काम प्रभावित हुन सक्ने उनले बताए। त्यस्तै, १ सय ६१ पालिकाले नक्सा अद्यावधिकको काम गरिरहेका छन् भने ४७ पालिकाले आधार र मापदण्ड तयार गर्दैछन्। ५४ पालिकाले कृषि क्षेत्रमा मात्र वर्गीकरण गरेका छन् भने ८५ पालिकाले यो काम नै सुरु गरेका छैनन्।
मुलुकका ६ वटा महानगरपालिकाले हालसम्म जग्गा वर्गीकरण गरेका छैनन्। ११ उपमहानगरपालिकामध्ये इटहरी उपमहानगरपालिकाले मात्र पूर्ण वर्गीकरण गरेको छ। ४ सय ६० गाउँपालिकामध्ये १ सय ३७ र २ सय ७६ नगरपालिकामध्ये १ सय १५ ले मात्र यो काम सम्पन्न गरेका छन्। काठमाडौंका ११ पालिकामध्ये बुढानीलकण्ठ नगरपालिकाले मात्र जग्गा वर्गीकरण गरेको छ।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका महासचिव खिमबहादुर थापाले पर्याप्त जनशक्ति र बजेट अभावका कारण धेरै पालिकाले वर्गीकरण गर्न नसकेको बताए। उनले आफ्नो पालिकामा वर्गीकरण सम्पन्न भए पनि अन्यत्र प्राविधिक जनशक्ति र बजेटको कमी रहेको उल्लेख गरे। कन्सल्टेन्सी नियुक्त गर्दा लागत महँगो हुने र त्यस्तो खर्च महालेखा परीक्षकले बेरुजु देखाउने समस्या रहेको उनको भनाइ छ। साथै, नापी विभागले सदरमुकाम नजिकका क्षेत्रमा मात्र कर्मचारी खटाउने तर गाउँपालिका प्रायः टाढा हुने भएकाले पनि काममा ढिलाइ भएको उनले बताए।
सरकारले भूउपयोग नियमावली, २०७९ लाई दुई पटक संशोधन गरिसकेको छ। २०७९ जेठमा नियमावली जारी हुँदा ६ महिनाभित्र कृषि क्षेत्रको चार किल्ला तोक्नुपर्ने व्यवस्था थियो, तर धेरै पालिकाले यो काम नगरेपछि २०८० साउन ३२ मा पहिलो संशोधन गरियो। उक्त संशोधनले आवासीय र व्यावसायिक जग्गा ८० वर्गमिटरसम्म र कृषि जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न सकिने व्यवस्था गरेको थियो। यसअघि आवासीय जग्गा १ सय ३० वर्गमिटर र कृषि जग्गा उपत्यकामा ५ सय वर्गमिटर तथा तराई र भित्री मधेशमा ६ सय ७५ वर्गमिटरभन्दा कम कित्ताकाट गर्न नपाइने नियम थियो।
२०८१ भदौमा ६ सय २० पालिकामा कित्ताकाट ठप्प भएपछि मन्त्रालयले दोस्रो पटक नियमावली संशोधन गरी २०८२ असारसम्मको समयसीमा थप गरेको थियो। तर, दुई पटक संशोधन र समय थप्दा पनि सबै पालिकाले वर्गीकरण नगरेको भन्दै कानुन मन्त्रालयले थप संशोधन नगर्ने अडान लिएको छ। कानुन मन्त्रालयका एक उच्च अधिकारीले अब भूउपयोग नियमावली संशोधन गर्न भूमि मन्त्रालयलाई सहमति नदिने बताए।
भूउपयोग ऐन, २०७६ को तीन वर्षपछि २०७९ जेठ २३ मा नियमावली जारी भएसँगै जग्गा वर्गीकरणको काम सुरु भएको थियो। महालेखा परीक्षकको ६२औं प्रतिवेदनले कित्ताकाटलाई व्यवस्थित गर्न सबै पालिकाले जग्गा वर्गीकरण गर्नुपर्ने र त्यसका लागि स्रोतसाधन उपलब्ध गराउनुपर्ने औंल्याएको छ। प्रतिवेदनअनुसार १ सय ९९ पालिकाले मात्र वर्गीकरण गरेको देखिन्छ। नियमावलीले कृषि, आवासीय, उद्योग, वन, खानी, व्यावसायिक लगायत १० वर्गमा जग्गा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। स्थानीय तहमा गठित भूउपयोग परिषद्ले सरकारले उपलब्ध गराएको नक्सा र विवरणका आधारमा यो काम गर्नुपर्ने कानुनी प्रावधान छ।
जग्गा वर्गीकरण सम्पन्न गरेका पालिकाहरूमा इटहरी, देउमाई, माई, सूर्योदय, मेचीनगर, कनकाई, भद्रपुर, अर्जुनधारा, शिवसताक्षी, गौरादह, बिर्तामोड, लेटाङ, रंगेली, सुन्दरहरैंचा, इनरुवा, दुहवी, बराहक्षेत्र, पाख्रिबास, धनकुटा, महालक्ष्मी, म्याङलुङ, चैनपुर, धर्मदेवी, खाँदबारी, मादी, पाँचखपन, षडानन्द, सोलुदूधकुण्ड, सिद्धिचरण, राजविराज, डाक्नेश्वरी, बोदेबरसाइन, खडक, शम्भुनाथ, सुरुङ्गा, लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, कल्याणपुर, कर्जन्हा, सुखीपुर, क्षिरेश्वरनाथ, गणेशमान चारनाथ, धनुषाधाम, नगराइन, विदेह, मिथिला, सहिदनगर, सबैला, कमला, मिथिला बिहारी, हंसपुर, बर्दिबास, गौशाला, भँगाहा, औरही, मलंगवा, लालबन्दी, हरिपुर्वा, बरहथवा, बलरा, गोडैटा, बागमती, चन्द्रपुर, गरुडा, बृन्दावन, गुजरा, कटहरिया, माधवनारायण, फतुवाविजयपुर, परोहा, राजदेवी, कोल्हवी, बहुदरमाई, जिरी, मेलम्ची, बुढानीलकण्ठ, विदुर, धुनीबेंसी, नीलकण्ठ, पालुङटार, भानु, शुक्लागण्डकी, गल्याङ, चापाकोट, पुतलीबजार, भीरकोट, वालिङ, कुश्मा, गल्कोट, जैमुनी, ढोरपाटन, कावासोती, गैंडाकोट, देवचुली, मध्यबिन्दु, देवदह, सिद्धार्थनगर, राजापुर, बर्दघाट, शारदा, गुर्भाकोट, पञ्चपुरी, चन्दननाथ, साँफेबगर, शिखर, गोदावरी, भीमदत्त, पुनर्वास, वेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, बेलौरी, कृष्णपुर, परशुराम, सिदिङ्वा, मिक्वाखोला, मैवाखोला, फालेलुङ, याङवरक, फाकफोकथुम, गौरीगन्ज, बाह्रदशी, झापा, बुद्धशान्ति, हल्दीबारी, कचनकवल, ग्रामथान, देवानगन्ज, कोशी, गढी, बर्जु, भोक्राहा नरसिंह, हरिनगर, साँगुरीगढी, सहिदभूमि, चौबिसे, आठराई, फेदाप, मेन्छयायेम, भोटखोला, चिचिला, मकालु, सभापोखरी, सिलिचोङ, साल्पासिलिछो, थुलुङ दूधकोशी, नेचासल्यान, खिजिदेम्बा, रावाबेंसी, अग्निसाइर, महादेवा, रूपनी, राजगढ, विष्णुपुर, बलान–बिहुल, बरियारपट्टी, लक्ष्मीपुर पतारी, नरहा, नवराजपुर, जनकनन्दिनी, बटेश्वर, मुखियापट्टी मुसहरमिया, लक्ष्मीनिया, औरही, साम्सी, चक्रघट्टा, चन्द्रनगर, धनकौल, ब्रह्मपुरी, विष्णु, कौडेना, दुर्गा भगवती, यमुनामाई, ठोरी, जगरनाथपुर, विन्दवासिनी, कालिञ्चोक, मेलुङ, पाँचपोखरी थाङपाल, लिसंखु पाखर, सुनकोशी, हेलम्बु, रोशी, ककनी, किस्पाङ, तादी, तारकेश्वर, दुप्चेश्वर, पञ्चकन्या, लिखु, म्यगङ, सूर्यगढी, उत्तरगया, खनियाबास, गजुरी, गल्छी, थाक्रे, बेनीघाट रोराङ, सिद्धलेक, भीमफेदी, बारपाक सुलिकोट, अजिरकोट, आरुघाट, गण्डकी, सहिद लखन, दूधपोखरी, आँबुखैरेनी, ऋषिङ, देवघाट, म्याग्दे, बन्दीपुर, अर्जुनचौपारी, कालीगण्डकी, फेदीखोला, बिरुवा, हरिनास, अन्नपूर्ण, माछापुच्छ्रे, मादी, रूपा, चामे, नासोँ, घरपझोङ, जलजला, पैयूँ, मोदी, बिहादी, बडिगाड, बौदीकाली, विनयी त्रिवेणी, हुप्सेकोट, कालीगण्डकी, पूर्वखोला, कञ्चन, गौमुखी, नौवहिनी, ऐरावती, गेरुवा, सुस्ता, प्रतापपुर, सरावल, नरहरिनाथ, चौरपाटी, बान्निगढी जयगढ, ढकारी, जोरायल, बर्दगोरिया, बेलडाडी, लालझाडी, दोगडाकेदार र नौगाड गाउँपालिका रहेका छन्।


