Banijya News

अमेरिकासँगको व्यापारमा १० वर्षमा ६३ अर्ब घाटा

1
1.1K Shares

आयातको तुलनामा निर्यात निकै कम हुँदा नेपालले वैदेशिक व्यापारमा वर्षेनि घाटा बेहोरिरहेको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख महिनासम्मको अवधिमा नेपालले १६३ देशसँग व्यापार गरेपनि अधिकांश देशहरूसँग व्यापार घाटा नै देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार यो १० महिनाको अवधिमा नेपालले १४ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गर्दा निर्यात भने २ खर्ब १७ अर्ब रुपैयाँमा सीमित रह्यो। यसै कारण सो अवधिमा १२ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको हो।

नेपालले अमेरिकासँगको व्यापारमा पनि निरन्तर घाटा बेहोर्दै आएको छ। चालु आर्थिक वर्षको वैशाखसम्ममा नेपालले अमेरिकाबाट २२ अर्ब ३१ करोड रुपैयाँको वस्तु आयात गर्दा निर्यात १४ अर्ब ४३ करोड रुपैयाँमै सीमित भएको छ। यसरी मात्र सो अवधि मै ७ अर्ब ८८ करोड रुपैयाँ घाटा भएको छ। अमेरिकाबाट विशेषगरी स्मार्टफोन, आइफोन लगायतका प्रविधियुक्त सामग्रीको माग उच्च रहँदा आयात दर बढेको हो। यता, नेपालबाट निर्यात हुने हस्तकलाका सामग्री, गलैँचा र पस्मिना जस्ता वस्तुमा गुणस्तर समस्या र ढिलाइका कारण निर्यात प्रभावित भएको बताइएको छ।

अर्थविद् कृष्णहरि बास्कोटाका अनुसार अमेरिका जस्ता देशले गरिब राष्ट्रबाट रेडिमेड गार्मेन्ट खरिद गर्ने नीति लिएकाले नेपालले कूटनीतिक वार्ता गरेर त्यो बजार पुनः प्राप्त गर्न सक्ने सम्भावना छ। गुणस्तरीय उत्पादन गरेर समयमै आपूर्ति गर्न सक्ने हो भने व्यापार घाटा न्यूनीकरण गर्न सकिने बास्कोटाको भनाइ छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि चालु आर्थिक वर्षको वैशाखसम्म नेपालले अमेरिकासँग ३ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। सो अवधिमा निर्यात १ खर्ब ३० अर्ब रुपैयाँमा सीमित हुँदा आयात १ खर्ब ९४ अर्ब रुपैयाँ नाघेको छ। फलस्वरूप पछिल्ला १० वर्षमा नेपालले अमेरिकासँगको व्यापारमा ६३ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको देखिन्छ।

यी १० वर्षमा नेपालले केवल तीन वर्ष २०७२/७३, २०७३/७४ र २०७९/८०—मा मात्रै व्यापार नाफा गरेको छ भने बाँकी सात वर्षमा घाटा बढिरहेको छ। पछिल्लो आव २०८०/८१ मा पनि आयात निर्यातभन्दा २ अर्ब १६ करोड रुपैयाँ बढी भएको छ।

1

Scroll to Top