चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २ अर्ब २४ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, यस अवधिमा सेबोनले कुल ३४ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासनको स्वीकृति दिएको हो।
यसमा १३ अर्ब १९ करोडको हकप्रद सेयर, ११ अर्ब ८० करोडको म्युचुअल फन्ड, ६ अर्ब ८२ करोडको डिबेन्चर र २ अर्ब २४ करोडको आइपिओ समावेश छन्। साथै, ५८ अर्ब ४३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ, जसमा २१ अर्ब ८ करोडको बोनस सेयर, २० अर्ब ३८ करोडको साधारण सेयर, ११ अर्ब ६५ करोडको हकप्रद सेयर, १ अर्ब २५ करोडको म्युचुअल फन्ड, १० करोड ६९ लाखको एफपिओ र ३ अर्ब ९६ करोडको अन्य सेयर छन्।
सेबोनका अनुसार ७६ कम्पनीले ५२ अर्ब ४८ करोड बराबरको आइपिओ निष्कासनका लागि आवेदन दिएका छन्, जसले ३६ करोड ८७ लाख कित्ता सेयर बजारमा ल्याउनेछ। यसमध्ये जलविद्युत् समूहका ३६ कम्पनीले १७ अर्ब ८९ करोड बराबरको १७ करोड ९९ लाख कित्ता सेयरका लागि आवेदन दिएका छन्। हिमपर्वत ऊर्जा, भुजुङ हाइड्रोपावर, यमलिङ हाइड्रोपावरलगायतका कम्पनी यसमा छन्।
उत्पादन तथा प्रशोधन समूहका १७ कम्पनीले २४ अर्ब ७९ करोड बराबरको ११ करोड ३१ लाख कित्ता सेयर ल्याउने तयारी गरेका छन्। एकोर्ड फर्मास्युटिकल्स, सूर्य सिमेन्ट, मारुती सिमेन्ट्सलगायतका कम्पनी यो समूहमा छन्। होटल तथा पर्यटन समूहका ५ कम्पनीले २ अर्ब ५८ करोड बराबरको २ करोड ८१ लाख कित्ता सेयर, लगानी समूहका ३ कम्पनीले २ अर्ब ९३ करोड बराबरको १ करोड ६५ लाख कित्ता सेयर, र अन्य समूहका १० कम्पनीले ३ अर्ब ४२ करोड बराबरको २ करोड ७४ लाख कित्ता सेयर ल्याउँदै छन्।
लघुवित्त समूहमा स्वस्तिक लघुवित्त र माइक्रो इन्स्योरेन्स समूहमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्सलगायतले आइपिओ ल्याउने तयारी गरेका छन्। अन्यमा डिस मिडिया, आइएमई, ह्याम्स हस्पिटल, कैलाश हेलिकोप्टरलगायत छन्। सालपा विकास बैंकको १७ करोड २३ लाख बराबरको १७ लाख २३ हजार कित्ता आइपिओ पनि पाइपलाइनमा छ।


