मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्गमा सवारीसाधनबाट उठाउने टोल ट्याक्स (शुल्क) स्वीकृत गरेको छ। सोमबार बसेको समितिको बैठकले सडक बोर्डले प्रस्ताव गरेको दरलाई स्वीकृति दिएको हो।
यस निर्णयपछि अब मन्त्रिपरिषद्को औपचारिक अनुमोदनपछि शुल्क लागू हुनेछ। समितिका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टोल ट्याक्ससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को आगामी बैठकमा एजेन्डा बन्न सक्ने जानकारी दिए। ‘सुरुङमार्गको शुल्क पूर्वाधार समितिबाट पास भइसकेको छ,’ उनले भने, ‘अब मन्त्रिपरिषद्को बैठकमा पेस भएपछि निर्णय हुनेछ।’
सुरुङमार्ग आगामी पुस महिनाबाट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। त्यसअघि नै आवश्यक नीतिगत तयारी पूरा गर्ने लक्ष्य छ।
सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार, बोर्डले प्रस्ताव गरेको शुल्क संरचनालाई नै समितिले स्वीकृति दिएको हो। शुल्क सवारीको प्रकार र मार्गको प्रयोगअनुसार फरक–फरक दरमा निर्धारण गरिएको छ।
सुरुङमार्गबाट वार्षिक ६० करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ। नागढुंगाबाट काठमाडौं प्रवेश तथा बाहिरिने मध्ये ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने प्रक्षेपण गरिएको छ। यही आधारमा टोल ट्याक्सबाट यस्तो आम्दानी हुने अनुमान गरिएको हो।
परियोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार, हाल नागढुंगा नाकाबाट दैनिक झण्डै ८,८०० सवारी आवतजावत गर्छन्। यदि तिनको ६० प्रतिशत सुरुङ प्रयोग गरेमा प्रस्तावित ट्याक्सबाट वर्षमा ६० करोड रुपैयाँसम्म राजस्व संकलन हुन सक्नेछ।
सुरुङमार्ग २४ घण्टा सञ्चालन गरिनेछ। त्यसका लागि ८–८ घण्टाको तीन सिफ्टमा १५० जना कर्मचारी आवश्यक पर्ने देखिएको छ। सडक विभागको प्रारम्भिक अध्ययनअनुसार सुरुङमार्ग सञ्चालन, नियन्त्रण कक्ष, प्रशासन, विद्युत्, इन्टरनेट, अक्सिजन, टेलिकमजस्ता सेवा व्यवस्थापनमा वार्षिक ३५ करोड रुपैयाँ खर्च हुनेछ।
यसरी सञ्चालन खर्च कटाएर सुरुङमार्गबाट वार्षिक २५ करोड रुपैयाँसम्म नाफा हुने देखिएको छ।


