Banijya News

निजी क्षेत्रको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि

1
1.1K Shares

चालु आर्थिक वर्षको पहिलो दस महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा उल्लेखनीय रूपमा बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार निजी क्षेत्रतर्फ कर्जाको मागमा बृद्धिसँगै यो अवधिमा कर्जा ७.३ प्रतिशतले वृद्धि भएको हो। हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा कूल ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा कर्जा २ खर्ब २५ अर्ब २४ करोडले मात्र बढेको थियो। वार्षिक बिन्दुगत आधारमा हेर्दा, २०८२ वैशाख मसान्तसम्म निजी क्षेत्रमा कर्जा ८.४ प्रतिशतले बढेको देखिन्छ।

निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये ६३.१ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रमा, भने ३६.९ प्रतिशत व्यक्तिगत तथा घरपरिवारतर्फ गएको छ। अघिल्लो वर्षको तुलनामा गैर–वित्तीय क्षेत्रको हिस्सा केही घटेको देखिएको छ भने व्यक्तिगत क्षेत्रमा थोरै बृद्धि भएको छ।

वाणिज्य बैंकहरूले कर्जा प्रवाह ७.६ प्रतिशतले बढाएका छन् भने विकास बैंक र वित्त कम्पनीहरूले क्रमशः ४.१ र ६.५ प्रतिशतले कर्जा प्रवाह बढाएका छन्। सुरक्षणको हिसाबले, १४.६ प्रतिशत कर्जा चालु सम्पत्तिमा आधारित रहेको छ भने ६५.१ प्रतिशत कर्जा घरजग्गा धितोमा आधारित रहेको राष्ट्र बैंकको तथ्यांक छ।

क्षेत्रगत रूपमा हेर्दा, निर्माण क्षेत्रमा कर्जा १२.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा ११.९ प्रतिशतले, औद्योगिक उत्पादनमा ९ प्रतिशतले, उपभोग्य क्षेत्रमा ८.८ प्रतिशतले, सेवा उद्योगमा ७.९ प्रतिशतले र थोक तथा खुद्रा व्यापारमा ४.९ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको देखिएको छ।

कर्जाको प्रकृतिअनुसार सबैभन्दा बढी बृद्धि आयात कर्जामा ५८.१ प्रतिशत देखिएको छ। त्यसपछिका कर्जा प्रवाह क्रमशः मार्जिन कर्जा ३९.३ प्रतिशत, रियल स्टेट कर्जा ५.२ प्रतिशत, आवधिक कर्जा ५.१ प्रतिशत, हायर पर्चेज ४.१ प्रतिशत, र नगद प्रवाह कर्जा ३.४ प्रतिशत रहेका छन्। तर ओभरड्राफ्ट कर्जा भने १२.९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

1

Scroll to Top