Banijya News

आगामी बजेटको अन्तिम तयारीमा सातै प्रदेश

1
1.1K Shares

आगामी आर्थिक वर्ष ०८२/८३ का लागि सातै प्रदेशले आन्तरिक स्रोत र संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँटको आधारमा बजेटको तयारी तीव्र पारेका छन्। तर, चालु आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी हुँदा पनि अधिकांश प्रदेशले ५० प्रतिशतभन्दा कम बजेट खर्च गरेका छन्। यसले समयमै योजना कार्यान्वयन गर्न नसकेको, बजेट ढिलो आएको, कार्यान्वयन क्षमताको अभावजस्ता संरचनागत समस्याहरू झल्काउँछ।

सुदूरपश्चिम प्रदेशले चालु वर्षका लागि विनियोजन गरेको पुँजीगत बजेटमध्ये वैशाख मसान्तसम्म २३.९५ प्रतिशत मात्रै खर्च गर्न सकेको थियो। जेठसम्म आइपुग्दा पुँजीगत खर्च ३२.६० प्रतिशतमा पुगेको छ भने कुल बजेट खर्च ५६.९१ प्रतिशत भएको छ। आन्तरिक राजस्व संकलनतर्फ पनि एक अर्ब ५० करोडको लक्ष्यमध्ये करिब एक अर्ब ३२ करोड मात्रै संकलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

कर्णाली प्रदेशमा समेत खर्च प्रगति सन्तोषजनक छैन। चालू वर्षको बजेट ३१ अर्ब ४१ करोडमध्ये ११ अर्ब मात्रै खर्च भएको छ, जुन जम्मा ३५.२८ प्रतिशत हो। पुँजीगत खर्च अपेक्षाकृत कम देखिएको छ भने, प्रशासनिक तथा सामाजिक विकास सम्बन्धी मन्त्रालयहरूको खर्च तुलनात्मक रूपमा उच्च देखिएको छ।

लुम्बिनी प्रदेशमा खर्च मात्र होइन, राजस्व संकलन पनि कमजोर देखिएको छ। साढे १० महिनाको अवधिमा कुल बजेटको ५४.७७ प्रतिशत मात्रै खर्च भएको छ भने, आन्तरिक राजस्व संकलन ३५.६३ प्रतिशतमा सीमित भएको छ। योजना ढिलो कार्यान्वयनमा जानु, कार्यान्वयन क्षमताको सीमितता र ढिलासुस्ती प्रवृत्ति यसका प्रमुख कारण देखिन्छन्।

गण्डकी प्रदेशले चालु आर्थिक वर्षको ११ महिनामा ४६.७० प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ। प्रचारमुखी योजनाको बढी मात्रामा समावेश र पूर्वतयारीविना गरिएको विनियोजनका कारण खर्चमा समस्या भएको भन्दै अर्थमन्त्रीले प्रक्रिया सुधारको आवश्यकता औँल्याएका छन्।

बागमती प्रदेशमा पनि ५० प्रतिशतभन्दा कम बजेट खर्च भएको छ। पुँजीगत खर्च ४०.५३ प्रतिशत र चालूतर्फ ५१.९१ प्रतिशत रहेको छ। आम्दानीतर्फ पनि लक्ष्यको ७९.६८ प्रतिशत मात्रै संकलन भएको छ। कार्यान्वयन ढिलासुस्ती, खासगरी विकास योजनाहरूको अन्त्यतिरमात्र सक्रियता देखिने परिपाटीले समस्या बढाएको छ।

मधेश प्रदेशको अवस्था झन् कमजोर देखिएको छ। साढे १० महिनामा जम्मा २० प्रतिशत मात्रै बजेट खर्च भएको छ। चालूतर्फ ३४.६१ र पुँजीगततर्फ १३.६४ प्रतिशत मात्रै खर्च भएको छ। राजस्व संकलनतर्फ पनि लक्ष्यको ४५ प्रतिशतमै सीमित भएको छ। बजेट निर्माणको त्रुटि, योजना कार्यान्वयनमा ढिलाइ र कार्यसम्पादनको कमजोरीले गर्दा यस्ता परिणाम आएको बताइएको छ।

कोशी प्रदेशले भने अन्य प्रदेशको तुलनामा केही राम्रो खर्च प्रगति देखाएको छ। कुल बजेट खर्च ५२.३२ प्रतिशत रहेको छ। चालू खर्च ६०.३९ प्रतिशत भए पनि पुँजीगत खर्च ४४.७ प्रतिशतमै सीमित छ। कुल आम्दानी २७ अर्ब ८१ करोड पुगेको छ भने राजस्वका प्रमुख श्रोत घरजग्गा, सवारी कर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क रहेका छन्।

संघीयताको प्रमुख आधारका रूपमा प्रदेश सरकारहरू स्थापना गरिएको भए पनि खर्च कार्यान्वयन क्षमताको अभाव, अनावश्यक रूपमा योजना संख्या वृद्धि, बजेट निर्माणमा देखिने ढिलाइ, कर्मचारी व्यवस्थापनको कमजोरी, तथा कार्यान्वयन समयसीमा नतोकिने परिपाटीले हरेक वर्षजस्तै यसपालि पनि बजेट खर्चमा निराशाजनक चित्र प्रस्तुत गरेको देखिन्छ।

1

Scroll to Top