Banijya News

वार्षिक ३५ अर्ब डलर कमाउँछन् विदेशमा रहेका नेपाली

1
1.1K Shares

नेपाल बाहिर रहेका आप्रवासी नेपालीहरूले सन् २०२२ मा मात्रै करिब ३५ अर्ब अमेरिकी डलर आम्दानी गरेका थिए। नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार यो आम्दानी नेपालको त्यही वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ८६ प्रतिशत बराबर रहेको थियो। त्यस वर्ष नेपालको जीडीपी आकार ४० अर्ब ८३ करोड डलर थियो भने अहिलेको तथ्याङ्कअनुसार जीडीपी ४६ अर्ब डलर नाघिसकेको छ।

शिवाकोटीको अध्ययन ‘द नेपाली डायसपोराज् रोल इन नेसनल डेभलपमेन्ट’ नामक पुस्तकमा प्रकाशित एक लेखमा आधारित छ, जुन अम्बिकाप्रसाद अधिकारीले सम्पादन गरेका हुन्। प्रतिवेदनले विश्वभर करिब ७० लाखभन्दा बढी गैरआवासीय नेपाली रहेको र उनीहरूबाट आउने रेमिट्यान्स अझै बढ्ने प्रक्षेपण गरेको छ। नेपालमा रोजगारीको अवसर न्यून भएकाले वैदेशिक रोजगारीतर्फको आकर्षण अझै कायम रहने देखिन्छ।

यो आम्दानीमध्ये केवल एक चौथाइ मात्र रकम पुँजी बजारमार्फत नेपाल भित्र्याउन सकिए नेपालको आर्थिक विकासमा ठुलो योगदान पुग्ने प्रतिवेदनले औँल्याएको छ। यसका लागि आवश्यक संरचनात्मक सुधारको आवश्यकता रहेको समेत प्रतिवेदनमा उल्लेख छ। विशेषगरी सेयर बजारमा गैरआवासीय नेपालीको पहुँच बनाउने पहल केही हदसम्म सुरु भइसकेको छ।

२०७७ मा लक्ष्मी प्रपन्न निरौलाको संयोजकत्वमा बनेको समिति र २०८० मा सुजनकुमार काफ्लेको संयोजकत्वमा बनेको समितिले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न दिने सम्बन्धमा सुझाव दिएका थिए। यिनै सुझावका आधारमा विभिन्न कानुनी सुधार र कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले विदेशी कम्पनीहरूलाई नेपालमा सूचीकरण हुने र नेपाली कम्पनीहरूलाई विदेशमा सूचीकरणको अवसर प्रदान गरेको छ। तर, नेपालको स्टक एक्सचेन्जलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिने ढाँचामा लैजानु जरुरी रहेको प्रतिवेदनमा भनिएको छ।

गैरआवासीय नेपालीहरूले स्थापना गरेको एनआरएन नेपाल डेभलपमेन्ट फण्डले १० अर्ब रुपैयाँ सेयरमार्फत संकलन गर्ने योजना बनाएको छ। जसमध्ये ५ अर्ब १० करोड संस्थागत लगानीकर्ताबाट र बाँकी ४ अर्ब ९० करोड सर्वसाधारणबाट जुटाउने तयारी थियो। फण्डको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको रहेको छ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको संशोधनपछि एक हजार डलरदेखि १० लाख डलरसम्म लगानी गर्न सकिने प्रावधान गरिएको छ। यसबाट विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई नेपालको पुँजी बजारमा जोड्ने प्रयासलाई बल मिल्ने आशा गरिएको छ।

1

Scroll to Top