पाकिस्तानको बहुराष्ट्रिय वित्तीय संस्था हबिब बैंकले नेपाली बैंकिङ क्षेत्रबाट आफ्नो यात्रा टुंग्याउने तयारी गरिरहेको छ। दुई दशकभन्दा लामो समयदेखि हिमालयन बैंकमा संस्थापक सेयरधनीको रूपमा रहँदै आएको हबिब अब आफ्नो बाँकी सम्पूर्ण सेयर बिक्री गर्न चाहन्छ।
उसको स्वामित्वमा रहेको दुई करोड ८० लाखभन्दा बढी कित्ता सेयर एकमुष्ट बिक्रीका लागि राखिएको छ, जसको मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएको छ। यस दरमा मूल्याङ्कन गर्दा बिक्रीबाट करिब तीन अर्ब १३ करोड रुपैयाँ उठ्ने आँकलन गरिएको छ।
हबिबले पहिले संस्थापक सेयरधनीहरूलाई नै प्राथमिकता दिनेछ। त्यसका लागि हिमालयन बैंकले हाल कायम रहेका सेयरधनीलाई ३५ दिनभित्र प्रस्ताव पेस गर्न समय दिएको छ। सिभिल बैंकसँगको मर्जरपछि हबिबको स्वामित्व १२.९३ प्रतिशतमा झरेको छ, जुन सुरुमा २० प्रतिशत थियो।
यो हबिबको पहिलो प्रयास होइन। सन् २०७६ मै उसले सेयर बिक्री गर्ने प्रयास गरिसकेको थियो। बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुपले खरिद गर्न सहमति जनाए पनि बैंक सञ्चालकहरूको विरोधले गर्दा सम्झौता टुंगोमा पुगेन। त्यतिबेला कर्मचारी सञ्चय कोषले पनि चासो देखाएको थियो तर सेयर किन्न पाएन।
हिमालयन बैंकको अहिलेको वित्तीय अवस्था कमजोर देखिन्छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उसले जम्मा ५० करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको समान अवधिको एक अर्ब ९४ करोडभन्दा धेरै कम हो। वितरणयोग्य नाफा झन् ८ करोड रुपैयाँमुनि छ। चुक्ता पुँजी भने २१ अर्ब ६५ करोड रुपैयाँ नाघिसकेको छ।
कर्मचारी सञ्चय कोष अहिले हिमालयनमा १४ प्रतिशत स्वामित्वसहित सबैभन्दा ठूलो संस्थापक सेयरधनी बनेको छ। अरू संस्थापकहरूमध्ये हिमालयनशमशेर जबरा, भीम पाँडे, पृथ्वी पाँडे, नरसिंह श्रेष्ठ र आनन्दभक्त राजभण्डारीजस्ता व्यक्तिहरू छन्। साथै, एन ट्रेडिङ कम्पनी, खेतान ग्रुप, आभा इन्टरनेसनल, छाया इन्टरनेसनल र शशिकान्त अग्रवालको पनि उल्लेखनीय लगानी छ।


