चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैंकहरूले कर्मचारीको तलब तथा भत्तामा ४८ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले वैशाख मसान्तसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.३३ प्रतिशतले बढी खर्च गरेका हुन्।
अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले ४५ अर्ब ५४ करोड रुपैयाँ खर्च गरेका थिए। चालु वर्षमा १५ वाणिज्य बैंकको तलब भत्ता खर्च बढेको छ भने पाँच बैंकको खर्च घटेको देखिएको छ।
सबैभन्दा धेरै तलबभत्ता खर्च गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले चालु आवको १० महिनामा ३ अर्ब ५२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस शीर्षकमा ३ अर्ब ६१ करोड ५१ लाख रुपैयाँ खर्च गरेको थियो। तलबभत्तामा खर्च दोस्रो स्थानमा कुमारी बैंक छ, जसले ३ अर्ब ३७ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ। ग्लोबल आइएमई बैंकले पनि ३ अर्ब १५ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ।
यसरी नै लक्ष्मी सनराइज, प्रभु, नेपाल बैंक, नबिल र कृषि विकास बैंकले पनि ३ अर्ब रुपैयाँभन्दा बढी तलबभत्तामा खर्च गरेका छन्। तीमध्ये केही बैंकको खर्च अघिल्लो वर्षको तुलनामा घटेको छ भने केहीको बढेको छ।
त्यस्तै एनआईसी एशिया, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबि, सिद्धार्थ, माछापुच्छ्रे, एभरेस्ट, सिटिजन्स, प्राइम, सानिमा, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकहरूले समेत उल्लेख्य रकम तलबभत्तामा खर्च गरेका छन्।
वृद्धिदरको हिसाबले सबैभन्दा अगाडि एनएमबि बैंक देखिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक भने यस्तो खर्च घटाउने बैंकमा परेको छ। समग्रमा बैंकिङ क्षेत्रको मानव संसाधन व्यवस्थापनतर्फको खर्च विस्तार हुँदै गएको देखिएको छ।


