चालु आर्थिक वर्ष ०८१/८२ को जेठ मसान्तसम्म सरकारले १० खर्ब १६ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो ११ महिनाको अवधिमा सरकारले निर्धारण गरेको १२ खर्ब ३४ अर्ब ८५ करोडको लक्ष्यभन्दा २ खर्ब १८ अर्ब ७७ करोड कम हो।
सरकारले चालु आवभरि १४ खर्ब १९ अर्ब ३० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। तर, आव सकिन अब एक महिना मात्र बाँकी रहँदा अझै ४ खर्ब ३ अर्ब उठाउनुपर्ने चुनौती बाँकी छ। अघिल्लो आर्थिक वर्ष ०८०/८१ को सोही अवधिको तुलनामा भने राजस्व ९९ अर्बले बढी संकलन भएको छ। गत आवको ११ महिनामा ९ खर्ब १६ अर्ब ८३ करोड राजस्व संकलन भएको थियो।
जेठ मसान्तसम्म दुई खर्ब ७ अर्ब ५० करोड रुपैयाँ भन्सार महसुल संकलन भएको छ। सो अवधिको लक्ष्य दुई खर्ब ७९ अर्ब ७० करोड थियो। वस्तु आयातमा लाग्ने महसुल एक खर्ब ६५ अर्ब ६५ करोड संकलन भएको छ। वस्तु निर्यातमा लाग्ने महसुलको लक्ष्य ३२ करोड ६२ लाख भए पनि ७१ करोड ८६ लाख संकलन भएको छ।
पूर्वाधार करबाट १९ अर्ब १६ करोड, कृषि सुधार शुल्कबाट ६ अर्ब ६९ करोड, सडक मर्मत दस्तुरबाट ९ अर्ब ४१ करोड, र सडक निर्माण दस्तुरबाट ५ अर्ब २० करोड संकलन भएको छ।
मूल्य अभिवृद्धि कर (भीएटी) राजस्वको सबैभन्दा ठूलो हिस्सा हो। चालु आवको ११ महिनामा ३ खर्ब २ अर्ब ५१ करोड संकलन भएको छ। यसमा उत्पादन तथा सेवाबाट १ खर्ब २७ अर्ब १८ करोड र आयातबाट १ खर्ब ७५ अर्ब ३३ करोड संकलन भएको हो।
अन्तःशुल्क शीर्षकबाट एक खर्ब ६१ अर्ब ९२ करोड संकलन भएको छ। जबकि लक्ष्य एक खर्ब ७८ अर्ब ६८ करोड थियो। आन्तरिक उत्पादनबाट १ खर्ब १९ अर्ब ५० करोड र आयाततर्फ ४२ अर्ब ४१ करोड संकलन भएको छ। शिक्षा सेवा शुल्कबाट तीन अर्ब ६७ करोड संकलन भएको छ, जुन लक्ष्य तीन अर्ब ९४ करोडभन्दा अलिकति कम हो।
सरकारले चालू आर्थिक वर्षमा तीन खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत बजेट छुट्याएकोमा ११ महिनामा एक खर्ब ४३ अर्ब ३९ करोड मात्रै खर्च गरेको छ। यो कुल पुँजीगत बजेटको ४०.७ प्रतिशत मात्र हो। चालू खर्चतर्फ ११ खर्ब ४० अर्बमध्ये ८ खर्ब ५१ अर्ब अर्थात् ७४.६८ प्रतिशत खर्च भएको छ।
कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेटमध्ये ६८.९८ प्रतिशत अर्थात् १२ खर्ब ८३ अर्ब १६ करोड खर्च भएको छ। ऋणको साँवा तथा ब्याज भुक्तानीतर्फ छुट्याइएको तीन खर्ब ६७ अर्बमध्ये दुई खर्ब ८७ अर्ब खर्च भएको छ।


