चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ६० अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि असारको पहिलो सातासम्म कुल ७१७ उद्योगमा ६० अर्ब ६० करोड ९४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता दर्ता भएको छ।
असार महिनामात्रै हेर्दा १४१ उद्योगमा करिब ३ अर्ब ५४ करोड रुपैयाँको लगानी प्रस्ताव आएको छ। तीमध्ये ८८ उद्योगले स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ५० करोड रुपैयाँभन्दा बढी र ५३ उद्योगले अप्रुभल रुटमार्फत ३ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता जनाएका छन्।
द विभागले जानकारी दिएअनुसार, सबैभन्दा बढी लगानी सूचना तथा प्रविधि क्षेत्रमा आकर्षित भएको छ। सूचना तथा प्रविधि क्षेत्रमा ३१३ प्रतिशत, पर्यटन क्षेत्रमा २६६ प्रतिशत, सेवा क्षेत्रमा ७६ प्रतिशत, उत्पादन क्षेत्रमा ४८ प्रतिशत, कृषि क्षेत्रमा ११ प्रतिशत, पूर्वाधारमा २ प्रतिशत र ऊर्जा क्षेत्रमा १ प्रतिशत मात्रै लगानी प्रतिबद्धता देखिएको छ।
विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेबापत लाभांश र रोयल्टी पनि विदेश लैजाने स्वीकृति लिएका छन्। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ९ अर्ब ६० करोड रुपैयाँ लाभांश फिर्ता लैजान स्वीकृति दिइएको विभागले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा करिब ९ अर्ब ९७ करोड रुपैयाँ लाभांश विदेश पठाउने अनुमति दिइएको थियो।
त्यस्तै, ११ महिनामा करिब १ अर्ब ६८ करोड रुपैयाँ बराबरको रोयल्टी फिर्ता लैजान पनि स्वीकृति दिइएको छ। यो रकम अमेरिकी डलर, भारतीय रुपैयाँ र युरो गरेर तीनवटै मुद्रामा बाहिरिएको छ।
उद्योग विभागका अनुसार लगानीकर्ताले नेपालमा प्रतिबद्ध लगानी एकैपटक नल्याई चरणबद्ध रूपमा भित्र्याउने व्यवस्था गरिएको छ, जसअनुसार स्वीकृत रकम किस्तामा भित्रिन्छ।
देशमा प्रत्यक्ष विदेशी लगानीको बहाव क्रमशः सुधार हुँदै गइरहे पनि लगानी वातावरण सुधार, राजनीतिक स्थिरता, नीति स्थायित्व, र प्रक्रियागत सहजतामा अझ सुधार आवश्यक देखिन्छ।


