नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । सोमवार काठमाडौंस्थित न्युरोडमा सुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् ।
व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरुको पनि साथ रहेको छ। उनीहरुले सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली एवं निर्देशिका निर्माण गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरुले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे,उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित विरोध जनाएका हुन् ।
सरकारले माग पूरा नगरे अझ सशक्त आन्दोलनमा उत्रने व्यवसायीहरुले चेतावनी दिएका छन् । संघर्ष समितिका संयोजक विपिन रामुदामुले सरकारले माग पुरा नगरे मंगलवार देखि रिले सहित आमरण अनसनको कार्यक्रम समेतमा जाने चेतावनी दिएका छन् ।
जेठ २९ गते देखि सुनचाँदी पसल बन्द गरी विरोधमा उत्रिएका व्यवसायीहरुले सरकारको कदमले २० हजार भन्दा बढी व्यवसायी पलायन हुने र नेपालको कला संस्कृतिको विकासमा क्षति हुने बताएका छन् ।
सुनचाँदी पसल निरन्तर बन्द भए राज्यलाई पाँच अर्ब भन्दा बढीको राजस्व गुम्ने र स्वरोजगार पलायन हुने व्यवसायीहरुले बताएका छन् । सुनचाँदीमा लगाएको विलासिता करको विरोधमा व्यवसायीहरुले पसल बन्द गरी विरोध गर्दै आइरहेका छन् ।
-1750063653.jpg)


