मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि कुल बजेटको २५ प्रतिशतभन्दा कम रकम मात्र खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मधेस सरकारले कुल बजेटको केवल २२.४७ प्रतिशत रकम खर्च गर्न सकेको छ।
चालु तथा पुँजीगत खर्च जोड्दा सरकारले हालसम्म ९ अर्ब ८६ करोड ११ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ। यो रकममध्ये चालुतर्फ ५ अर्ब ३० करोड र पुँजीगततर्फ ४ अर्ब ५५ करोड खर्च गरिएको छ। जबकि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि करिब ४३ अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको थियो।
यसरी हेर्दा हालसम्म करिब ३४ अर्ब रुपैयाँ बराबरको बजेट अझै खर्च हुन बाँकी छ। लेखा नियन्त्रक कार्यालयका अनुसार अबको ११ दिनभित्र बाँकी बजेटको भुक्तानी गरिसक्नुपर्ने हुन्छ। खरिद ऐनअनुसार विकास निर्माणका कामहरू १५ असारभित्र सकिनुपर्ने प्रावधानले गर्दा बचेको बजेट खर्च गर्ने दवाव प्रदेश सरकारमाथि रहेको छ।
मन्त्रालयगत विवरण हेर्दा सबैभन्दा कम खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको देखिन्छ। ४७ करोड ९४ लाखको बजेटमध्ये यस कार्यालयले केवल २ करोड रुपैयाँ मात्र खर्च गरेको छ। त्यस्तै अर्थ मन्त्रालयले पनि २० करोडको बजेटमध्ये ८ करोड ७४ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ।
गृह मन्त्रालयले ८० करोडको बजेटमध्ये २० करोड खर्च गर्दा वन तथा वातावरण मन्त्रालयले २ अर्ब ५१ करोडमध्ये १ अर्ब १२ करोड खर्च गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयले भने १३ अर्ब ६४ करोड बजेटमध्ये २ अर्ब ६३ करोड खर्च गरेको देखिन्छ।
अन्य मन्त्रालयहरूको अवस्था पनि खासै उत्साहजनक छैन। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा लगायतका मन्त्रालयहरूले पनि आफ्ना कुल बजेटमध्ये आधा रकमसम्म मात्र खर्च गर्न सकेका छैनन्। केही मन्त्रालय र प्रदेश सभाका अन्य निकायहरूले त आधाभन्दा पनि कम खर्च गरेका छन्।
बजेट खर्चमा ढिलाइ हुनुका पछाडि विभिन्न कारणहरू देखाइएको छ। अर्थ मन्त्रालयका अनुसार योजनाहरू ढिलो सुरु हुनु, ठेक्कापट्टामा समय लाग्नु र कर्मचारी तथा प्राविधिकहरूको कमजोरी मुख्य कारण हुन्। अर्थमन्त्री सुनिल यादवका अनुसार टेन्डर प्रक्रिया अगाडि बढाउन अधिकृतको अभाव र मार्गदर्शनको कमीले समस्या उत्पन्न भएको हो।
तर, विपक्षी दल जसपा नेपालका नेता तथा प्रदेश सांसद मनिष सुमनले भने बजेट खर्चमा देखिएको यो कमजोरीको मूल कारण सरकारका मन्त्रीहरूको कार्यशैली रहेको दाबी गरेका छन्। उनका अनुसार मन्त्रीहरू जिम्मेवार ढंगले काम नगरेर कार्यक्रममै रमाइरहेका छन्। उनी भन्छन्, “काम ढिलो भयो भने गुणस्तरहीन हुन्छ, अनि अनुकूल ‘कमिसन’ उठाउन सजिलो हुन्छ, भन्ने नियतले बजेट खर्चमा जानीजानी ढिलाइ गरिएको हो।”
अबको ११ दिनमा बाँकी बजेट खर्च गर्नुपर्ने चुनौती प्रदेश सरकारसामु छ। तर यस्तो अवस्थामा हतारमा गरिने कामहरूको गुणस्तर र पारदर्शिताबारे प्रश्न उठ्न थालेको छ।


