Banijya News

नेपालको ऋण भार कुल जीडीपीको ४३ प्रतिशत नाघ्यो

1
1.1K Shares

नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ दशमलव ४७ प्रतिशतमा पुगेको छ। यो तथ्यांक अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको हो। पछिल्लो समय आन्तरिक तथा बाह्य दुवै किसिमका ऋण क्रमशः बढ्दै गइरहेका छन्।

२०८२ सालको जेठ मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको सुरुवातमा यो ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो। त्यसको तुलनामा करिब २ खर्ब रुपैयाँले ऋणको परिमाण बढेको हो।

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। तर जेठ मसान्तसम्ममा ४ खर्ब १४ अर्ब १९ करोड रुपैयाँ मात्र प्राप्त भएको छ, जुन कुल लक्ष्यको ७५ दशमलव ७२ प्रतिशत हो।

प्राप्त ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ७६ दशमलव ९५ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा २३ दशमलव ९५ प्रतिशत रहेको छ। तर आन्तरिक ऋण प्राप्तिको प्रगति अपेक्षाकृत न्यून, १५ दशमलव ४५ प्रतिशत मात्र देखिएको छ। बाह्य ऋणको प्रगति भने ४५ दशमलव ७२ प्रतिशत रहेको छ।

ऋणको सावाँ र ब्याज तिर्न चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमा जेठ मसान्तसम्म ३ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन कुल विनियोजनको ८१ दशमलव ८२ प्रतिशत हो। गार्हस्थ्य उत्पादनको आधारमा हेर्दा, ऋण सेवा खर्च ५ दशमलव ४ प्रतिशतमा पुगेको छ।

आगामी वर्षको बजेटमा सरकारले ऋण तथा ब्याज भुक्तानीका लागि ३ खर्ब ५७ अर्ब रुपैयाँ छुट्याएको छ, जुन लगभग विकास बजेट बराबर हो। सोही वर्षको विकास खर्चका लागि छुट्याइएको रकम ४ खर्ब ७ अर्ब रुपैयाँ रहेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विदेशी मुद्रामा देखिएको उतारचढावले ऋणको भार अझ बढाउने सम्भावना देखिएको छ। यस्तो अवस्थामा ऋणको दीर्घकालीन व्यवस्थापनमा सचेतता आवश्यक देखिएको छ।

1

Scroll to Top