नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले बिहीबारको संसद् बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट पुस्तक च्यातेका छन्।
थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेखसहित देशका अन्य धेरै भूभागका जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाउँदै विरोधस्वरूप संसदभित्रै बजेट कागज च्यातेका हुन्।
“भौतिक मन्त्रालयको बजेटले दैलेख मात्र होइन, धेरै ठाउँका जनतालाई पनि बेवास्ता गर्यो,” उनले भने, “जनताबाट उठाइएको राजस्व जनतामै खर्च हुनुपर्ने हो, तर बजेट उल्टो बाटोमा लागेको छ। त्यसैले मलाई यो किताब मन परेन। च्यात्ने अनुमति लिएर च्यातेँ। धन्यवाद।”
सांसद थापाले बजेटले विकासको नाममा विभेदपूर्ण दृष्टिकोण लिएको आरोपसमेत लगाए। उनले सन्तुलित बजेट वितरण, समावेशी पूर्वाधार नीति र दिगो विकासको आवश्यकतालाई जोड दिएका थिए।
उनको यस्तो प्रदर्शनपछि संसद्मा केहीबेर तनाबपूर्ण अवस्था देखिएको थियो। सभामुखले शान्तिपूर्ण विरोधका सीमा ननाघ्न सांसदहरूलाई आग्रह गरेका थिए।


