चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वीरगञ्ज नाका हुँदै झन्डै १६ अर्ब रुपैयाँ बराबरका इन्धनबाट चल्ने सवारीसाधन आयात भएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, उक्त अवधिमा ५९ हजार ४७४ युनिट सवारीसाधन भित्रिएका हुन्।
भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, सवारीसाधन आयातबाट कुल १५ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। आयात भएका सवारीमध्ये सबैभन्दा ठूलो हिस्सा पाँच अर्ब ७८ करोड मूल्यका ४४ हजार ४४० अनएसेम्बल्ड मोटरसाइकलको रहेको छ, जसबाट पाँच अर्ब ५१ करोड राजस्व उठाइएको छ।
त्यस्तै, एक अर्ब ८० करोड मूल्यका ८३९ युनिट इन्धनचालित जिप, कार र भ्यान आयात भएका छन्। यसै अवधिमा एक अर्ब १६ करोड मूल्यका ५,२२० ट्र्याक्टर तथा ट्रिलर र एक अर्ब दुई करोड मूल्यका ३७४ वटा बस पनि आयात भएका छन्।
क्रङ्क्रिट लहरी, ट्रक तथा मिनीट्रक, तयारी मोटरसाइकल लगायतका सवारीसाधनसमेत यस अवधिमा ठूलो संख्यामा भित्रिएका छन्।
विशेषगरी सवारी आयातको कुल परिदृश्यमा अब भने विद्युतीय सवारीको पनि उल्लेखनीय उपस्थिति देखिएको छ। पछिल्लो ११ महिनामा दुई हजार ३८५ युनिट साना तथा ठूला विद्युतीय सवारीसाधन आयात भएका छन्, जसको मूल्य एक अर्ब ८४ करोड २३ लाख रुपैयाँ बराबर छ। ती सवारीबाट झण्डै बराबर रकम (एक अर्ब ८४ करोड २७ लाख) राजस्व पनि संकलन भएको छ।
समग्रमा सवारीसाधन तथा तिनका पार्टपुर्जा आयातबाट वीरगञ्ज भन्सारले चालु आवको ११ महिनामा जम्मा १७ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन राष्ट्रिय राजस्वमा ठुलो योगदान मानिएको छ।


