खानेपानी, सरसफाइ तथा ढल निकास मन्त्री प्रदीप यादवले सरकारले तय गरेको ९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्याउने लक्ष्य बजेट र जनशक्ति अभावकै कारण चुनौतीपूर्ण बनेको बताएका छन्।
आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले हालसम्म ९८ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी पहुँच पुर्याइए पनि सुरक्षित खानेपानी पहुँच २८ प्रतिशतमा मात्र सीमित रहेको प्रस्ट पारे।
“बजेट र जनशक्ति अभावकै कारण लक्ष्यमा पुग्न कठिन छ,” मन्त्री यादवले प्रतिनिधिसभामा भने, “बजेट नबढाए लक्ष्य पूरा गर्न सकिन्न।”
उनका अनुसार पछिल्ला वर्षहरूमा सरकारको प्रयासले पानीजन्य रोगबाट हुने बाल मृत्युदर घट्नु, सरदर आयु बढ्नु र पर्यावरणीय सुधार जस्ता सकारात्मक प्रभाव देखिएका छन्। त्यसैले शुद्ध र सुरक्षित खानेपानी सबैलाई पुर्याउने प्रतिबद्धता मन्त्रालयको रहेको उनले दोहोर्याए।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ, जुन अपेक्षित आवश्यकताभन्दा कम भएको गुनासो उनले गरे।
मन्त्री यादवले संघीय सरकारले मात्र ढल प्रशोधन प्रणाली सञ्चालनमा ल्याइरहेको जनाउँदै, प्रदेश र स्थानीय तहहरूले अझै आवश्यक पहल गर्न नसकेको बताए। तीव्र सहरीकरण र जीवनशैलीको परिवर्तनले उत्पन्न हुने फोहोर व्यवस्थापन चुनौती बनेकाले ढल निर्माणका लागि कार्ययोजना निर्माण भइरहेको जानकारी पनि उनले दिए।


