Banijya News

अधिकांश स्थानीय तहले ल्याए बजेट, ५२ पालिका अझै बाँकी

1
1.1K Shares

देशभरका ७ सय ५३ पालिकाहरूमध्ये ७ सय १ वटाले आगामी आर्थिक वर्षको बजेट सङ्घीय पोर्टलमा प्रविष्ट गरिसकेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आज बिहान ७ बजेसम्म ५२ वटा पालिकाले भने बजेट प्रविष्ट गर्न बाँकी छ। प्रदेशगत रूपमा हेर्दा, मधेश प्रदेशमा बजेट पेश नगर्ने पालिकाको सङ्ख्या सबैभन्दा बढी छ, जहाँ १३६ मध्ये ११२ वटाले मात्र बजेट प्रविष्ट गरेका छन्।

कोशी प्रदेशका १३७ पालिकामध्ये १३० वटाले बजेट ल्याएका छन् भने बागमतीका ११९ मध्ये ११०, गण्डकीका ८५ मध्ये ८४, लुम्बिनीका १०९ मध्ये १०१, कर्णाली प्रदेशका ७९ मध्ये ७७ र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८७ पालिकाले बजेट ल्याएका छन्। बजेट सभामा पेश गरिसकेका केही पालिकाहरूले भने अझै पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने भए पनि काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिका लगायत केही पालिकाले हिजो तोकिएको समयमा बजेट सभामा पेश गर्न सकेनन्।

आन्तरिक विवादका कारण काठमाडौं महानगरपालिकाले समयसीमाभित्र बजेट ल्याउन नसकेको हो। यद्यपि, विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकाहरूले भने समयमै बजेट प्रस्तुत गरिसकेका छन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले असार १० गतेभित्र बजेट प्रस्तुत गरी असार मसान्तभित्र आ-आफ्नो सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था गरेको छ। अहिलेसम्म बजेट पेश गर्न नसकेका पालिकाहरूमा आन्तरिक विवाद नै मुख्य कारण रहेको बुझिएको छ।

1

Scroll to Top