नेपालमा बढ्दो बाह्य ऋणको बोझले दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्नमा जोखिम उत्पन्न गराएको विज्ञहरूले औँल्याएका छन्। आउँदो सोमबारदेखि असार १९ गतेसम्म स्पेनमा हुने ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले विकासशील देशहरूमा बाह्य ऋणको बढ्दो भारले सामाजिक विकास कार्यक्रमहरूमा असर पुगेको भन्दै तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको बताए। उनले विश्वभरका विकासशील र विकासोन्मुख देशहरूले आफ्ना नागरिकको स्वास्थ्य र शिक्षामा भन्दा बढी रकम ऋणको ब्याज तिर्नमा खर्च गरिरहेको जानकारी दिए।
यस्तै, पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अहिलेकै तरिकाबाट दुई पक्षीय ऋणहरू (bilateral loans) लिन नहुने बताए। उनले नेपालले उदार र महँगो दरमा ऋणहरू लिन नहुने भन्दै बहुपक्षीय ऋण (multilateral loans) लिएर आफ्नो आवश्यकताका आधारमा लगानी गर्नसक्ने स्थिति निर्माण गर्नुपर्नेमा जोड दिए।
पूर्वअर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले भने नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्न सकिने अनुदानमात्रै लिनुपर्ने सुझाव दिए। उनले नेपालले पैसामा लगानी गर्ने नभई नीतिमा लगानी गर्ने गरेको भन्दै सरकारले लिएका धेरै अनुदानहरू नीतिगत हस्तक्षेपका रूपमा आउने गरेकाले नेपालले भनेअनुसार विकास गर्न नसकेको जिकिर गरे।
विज्ञहरूले उठाएका यी विषयहरूले नेपालको विकासका लागि बाह्य वित्त व्यवस्थापनमा पुनरावलोकनको आवश्यकता देखाएको छ। ऋणको बोझ घटाउँदै सामाजिक क्षेत्रमा पर्याप्त लगानी सुनिश्चित गर्नका लागि प्रभावकारी वित्तीय नीति र रणनीतिको खाँचो रहेको देखिन्छ।


