Banijya News

पछिल्लो ११ महिनामा ६० अर्ब बढीको वैदेशिक लगानी स्वीकृति

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले करिब ६० अर्ब ६० करोड रुपैयाँभन्दा बढी बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ। उद्योग विभागको तथ्यांक अनुसार, २०८१ साउन १ गतेदेखि २०८२ जेठ मसान्तसम्मको अवधिमा स्वीकृति पाएका परियोजनाहरूको कुल लगानी रकम ६० अर्ब ६० करोड ९४ लाख ४३ हजार ४०० रुपैयाँ रहेको छ।

केवल जेठ महिनामै १४१ वटा उद्योगमा तीन अर्ब ५४ करोड १७ लाख रुपैयाँभन्दा बढी बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। तीमध्ये एउटा मध्यमस्तरको उद्योग बाहेक बाँकी १४० वटा साना उद्योग रहेको विभागको विवरणमा उल्लेख छ।

क्षेत्रगत विवरण हेर्दा, सेवा क्षेत्रले सबैभन्दा बढी लगानी आकर्षित गरेको देखिन्छ। सेवा क्षेत्रमा ३० अर्ब ४४ करोड ७७ लाख रुपैयाँ, पर्यटन क्षेत्रमा २३ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ र उत्पादनमूलक क्षेत्रमा तीन अर्ब १२ करोड २० लाख रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ। यस्तै, सूचना प्रविधि क्षेत्रमा एक अर्ब ५७ करोड, कृषि क्षेत्रमा एक अर्ब ४४ करोड, उर्जा क्षेत्रमा २ करोड ५५ लाख र पूर्वाधार क्षेत्रमा ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृति पाएको छ।

उद्योगको संख्याको हिसाबले पनि सूचना प्रविधि क्षेत्र अग्रस्थानमा देखिएको छ। हालसम्म ११ महिनामा आईटी क्षेत्रका ३१३, पर्यटनका २६६, सेवा क्षेत्रका ७६, कृषि क्षेत्रका ११, पूर्वाधारका दुई र उर्जा क्षेत्रमा एक उद्योगले लगानी स्वीकृति पाएका छन्।

हालसम्म नेपालमा स्वीकृत कुल प्रत्यक्ष वैदेशिक लगानी पाँच खर्ब ९० अर्ब रुपैयाँ नाघेको छ। विभागका अनुसार, यो लगानी ७ हजार ११६ वटा उद्योगहरूमा स्वीकृत गरिएको हो। यस्ता तथ्यांकले नेपालमा वैदेशिक लगानीको आकर्षण क्रमशः बढ्दो रहेको देखाउँछ, यद्यपि लगानी भित्र्याउने प्रक्रियाको प्रभावकारिता, भौतिक पूर्वाधार, राजनीतिक स्थायित्व र नीतिगत स्पष्टता अझै सुदृढ बनाउनु आवश्यक देखिन्छ।

1

Scroll to Top