Banijya News

ब्रोकर कम्पनीहरूलाई चुक्ता पुँजी बढाउन असार मसान्तसम्मको समय

1
1.1K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरूलाई तोकेको चुक्ता पुँजीको सीमा पुरा गर्न दिएको तीन वर्षे समयसीमा यही असार मसान्तमा सकिँदै छ। तर निर्धारित समय पूरा हुनै लाग्दा पनि तीन दर्जनभन्दा बढी ब्रोकर कम्पनीहरूले अझै पनि आवश्यक पुँजी पुर्‍याउन सकेका छैनन्।

सेबोनले २०७९ सालमै नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना कम्पनीहरूलाई कार्यक्षेत्रअनुसार तोकिएको चुक्ता पुँजी — सीमित कारोबारकर्ताका लागि २० करोड, पूर्ण कारोबारकर्ताका लागि ६० करोड र स्टक डिलरका लागि १ अर्ब ५० करोड — तीन वर्षभित्र पुर्‍याउन निर्देशन दिएको थियो। तर, निर्देशन जारी भएको यतिका वर्ष बित्दा पनि धेरै कम्पनीहरूले पुँजी पुर्याउन आवश्यक कदम चालेका छैनन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार हाल ९२ वटा ब्रोकर कम्पनीहरू सक्रिय छन्, जसमा दुईवटा स्टक डिलर छन्। नयाँ कम्पनीहरूले भने तोकिएको पुँजीको मापदण्ड पूरा गरेर लाइसेन्स लिएका छन्, तर पुराना ३८ कम्पनी अझै पछि परेका छन्।

छ महिनाअघि सेबोनले चुक्ता पुँजी नपुगेका कम्पनीहरूलाई स्पष्टिकरण माग्दै पत्राचार गरेको थियो। सोही क्रममा गएको पुस ८ गते ती कम्पनीहरूलाई पुँजी पुर्याउने योजना पेश गर्न आग्रह गरिएको थियो। त्यसपछि अधिकांश कम्पनीहरूले बोनस शेयर, हकप्रद वा मर्जरमार्फत पुँजी बढाउने योजना पेश गरेका छन्।

सेबोनका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार अधिकांश कम्पनीहरूले मर्जरमार्फत पुँजी पुर्‍याउने योजना प्रस्तुत गरेका छन्। ती कम्पनीहरूको सूचीमा आशुतोष ब्रोकरेज, कुमारी सेक्युरिटिज, अरुण सेक्युरिटिज, जेएफ सेक्युरिटिज, मल्ल एन्ड मल्ल, थ्राइभ ब्रोकरेज, कोहिनुर इन्भेस्टमेन्ट, एबीसी सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज लगायतका दर्जनौं कम्पनीहरू रहेका छन्।

यसै क्रममा, सेबोनले ब्रोकर मर्जर र प्राप्ति प्रक्रिया सहज बनाउन ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०८१’ यही चैतको तेस्रो साता मात्र सार्वजनिक गरेको थियो। ब्रोकर कम्पनीहरूको छाता संगठन स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालका अनुसार निर्देशिका ढिलो ल्याइएकाले पनि समयमै पुँजी पुर्‍याउन नसकिएको हो।

“सेबोनले निर्देशन त दियो, तर त्यसका लागि कानुनी र प्राविधिक आधार भने समयमै बनाएन,” ढकालले भने, “यदि निर्देशिका ६ महिना अघि नै आएको भए, धेरै कम्पनीहरू मर्जरमार्फत अबसम्म पुँजी पुर्‍याइसक्थे।”

ढकालले सेबोनको ढिलासुस्तीले कम्पनीहरूलाई अन्योलमा पारेको भन्दै तोकिएको समयभित्र पुँजी १० गुणा बढाउनु व्यावहारिक नभएको बताए। ब्रोकर कम्पनीहरूले सेबोनसँग समय थपको माग राख्दै अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई भेटिसकेका छन्।

ब्रोकर एसोसियसनका पदाधिकारीहरूले कम्तीमा आगामी आर्थिक वर्षको अन्त्य — २०८४ असार मसान्त — सम्मको समय थप्न अनुरोध गरेका छन्। सेबोनले अहिलेसम्म औपचारिक रूपमा समय थप्ने निर्णय गरिसकेको छैन।

 

1

Scroll to Top