Banijya News

सात अर्बको वित्तीय समानीकरण अनुदान तत्काल निकासा गर्न स्थानीय तहको माग

1
1.1K Shares

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले चालु आर्थिक वर्ष २०८१-८२ का लागि सरकारले वित्तीय समानीकरण अनुदानमा गरेको ७ अर्ब ९५ करोड १२ लाख रुपैयाँको कटौती (विनियोजित अनुदानको ८.२४%) प्रति गम्भीर आपत्ति जनाउँदै तत्काल निकासा गर्न माग गरेका छन्। यो रकम निकासा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दुवै संस्थाले संयुक्त रूपमा अर्थमन्त्रीलाई पठाएको पत्रमार्फत दिएका छन्।

महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे र संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले बिहीबार संयुक्त हस्ताक्षर गरी पठाएको पत्रमा वित्तीय समानीकरण अनुदान स्थानीय सरकारहरूको योजना तर्जुमा गर्ने मुख्य स्रोत भएको उल्लेख छ। यस कटौतीले आन्तरिक स्रोत सीमित भएका स्थानीय सरकारहरूलाई ठूलो आर्थिक संकट निम्त्याउने र स्थानीय सरकारको स्वायत्ततामाथि प्रहार भई वित्तीय संघीयताको मर्ममै असर पर्ने चेतावनी पनि दिइएको छ।

गत आर्थिक वर्षमा पनि सरकारले समानीकरण अनुदान कटौती गरेकोमा स्थानीय तहको निरन्तरको दबाब र आन्दोलनको चेतावनीपछि कटौती भएको रकम पठाउने निर्णय गरेको स्मरण गराइएको छ। गत वर्ष अर्थमन्त्रीले विनियोजन विधेयकको छलफलका क्रममा समानीकरण अनुदान कटौती नगर्ने प्रतिबद्धता जनाएकाले चालु आवमा पनि उक्त रकम कटौती नहुनेमा आफूहरू विश्वस्त रहेको पत्रमा उल्लेख छ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत यस विषयमा कुनै सम्बोधन नभएको र सम्बन्धित निकायबाट कुनै जानकारीसमेत प्राप्त नभएकाले स्थानीय तहहरूमा गम्भीर आशंका र चिन्ता बढेको दुवै संघले जनाएका छन्। पत्रको अन्त्यमा, उनीहरूले समानीकरण अनुदानलाई सशर्त कार्यान्वयनको अनिवार्य शर्तका रूपमा स्वीकार नगर्न र यसलाई कटौती नगर्न विशेष अनुरोध गर्दै संघीयताको जगका रूपमा रहेका स्थानीय सरकारहरूको यो अनुरोधलाई बेवास्ता गरिएमा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

1

Scroll to Top