नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) प्रक्रियालाई करिब १५ दिनले छोट्याउने भएको छ। आईपीओ निष्कासनको हालको लामो अवधिलाई छोटो बनाउन सेबोनले ‘धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका’ को छैटौं संशोधनलाई पुनः संशोधन गर्न लागेको हो।
सेबोनको आगामी साता बस्ने बोर्ड बैठकले आईपीओ निष्कासन प्रक्रिया छोट्याउने विषयलाई पारित गर्नेछ। यसका लागि आवश्यक अन्य सबै तयारी पूरा भइसकेको बोर्ड स्रोतले जनाएको छ। धेरै कम्पनीहरूको आईपीओ पाइपलाइनमा रहेको र तिनको स्वीकृति प्रक्रियालाई तीव्र पार्नुअघि सेबोनले समग्र प्रक्रियालाई नै छोटो बनाउन लागेको हो।
यस नयाँ नीतिअन्तर्गत आईपीओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आवेदन दिन पाउने अवधि पनि घटाइनेछ। अब उनीहरूले सर्वसाधारणलाई जस्तै ४ दिन मात्र आवेदन अवधि पाउनेछन्। यदि ४ दिनभित्र कुनै कम्पनीको आईपीओ बिक्री नभएमा, वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले पनि अन्य सर्वसाधारणले जस्तै थप १५ दिनको समय पाउनेछन्।
हालको व्यवस्थाअनुसार, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आईपीओ भर्नका लागि सुरुमै १५ दिनको आवेदन अवधि पाउँछन्। नेपाल धितोपत्र बोर्डको निर्देशिकाअनुसार, कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कम्तीमा १० प्रतिशत सेयर आरक्षित गर्नुपर्ने व्यवस्था छ। यो सेयर सर्वसाधारणका लागि आईपीओ जारी गर्नुअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि जारी गरिन्छ।


