नेपाल अझै पनि धान र चामलमा परनिर्भर नै रहेको पुष्टि भएको छ। उत्पादनमा केही सुधार देखिए पनि वार्षिक आवश्यकता अनुसार झण्डै १० लाख मेट्रिक टन धान अपुग रहेकाले विदेशबाट धानजन्य वस्तु आयात गर्नुपर्ने बाध्यता कायमै छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार देशलाई वार्षिक करिब ७९ लाख मेट्रिक टन धान आवश्यक पर्छ। तर चालु आर्थिक वर्षमा अनुमानित उत्पादन ५९ लाख ५५ हजार मेट्रिक टन मात्र रहेको छ। फलस्वरूप, चालु आवको जेठ मसान्तसम्म ७ लाख ५३ हजार मेट्रिक टन धान, बीउ, चामल र कनिका आयात गरिनु परेको छ। यसको आयातमूल्य मात्र ३८ अर्ब ९४ करोड रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ।
विशेषगरी, नेपालमा कम उत्पादन हुने वास्नादार मसिना चामलमा उपभोक्ताको बढी झुकाव, तथा छिमेकी मुलुकको नीतिगत निर्यात व्यवस्थाको प्रभाव जस्ता कारणले आत्मनिर्भरता नजिकिँदा पनि धान/चामलको आयात अपेक्षाकृत कम हुन सकेको छैन।
२०५० सालसम्म नेपालबाट चामल निर्यात हुने अवस्था थियो। दक्षिण कोरियाजस्ता मुलुकमा समेत नेपाली चामल जान्थ्यो। तर, अहिले उल्टो रूपमा नेपाल परनिर्भर राष्ट्र बन्दै गएको छ। यद्यपि सरकारले आत्मनिर्भरता हासिल गर्ने घोषणाहरू भने गरिरहेकै छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा पनि दुई वर्षभित्र धानमा आत्मनिर्भर बन्ने लक्ष्य राखिएको छ। सो अनुसार, चैते धानको क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृद्धिको कार्यक्रम तीनै तहका सरकारमार्फत कार्यान्वयन गरिनेछ। गुणस्तरीय बीउ, मलखाद र अनुसन्धानमा आधारित प्रविधिहरू किसानसम्म पुर्याउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो तथ्याङ्कले केही सान्त्वना दिने आँकडा पनि देखाएको छ। चालु वर्षको धान उत्पादन गत वर्षको तुलनामा ४.४ प्रतिशतले बढेर ५९.५५ लाख मेट्रिक टन पुगेको छ। यो वृद्धिको पछाडि मनसुन समयमै सक्रिय हुनु, औसतभन्दा धेरै वर्षा हुनु, उन्नत बीउ र मलको सहज उपलब्धता जस्ता कारक रहेको बताइएको छ।
तर, धान लगाइएको क्षेत्रफल भने १.२८ प्रतिशतले घटेर १४ लाख २० हजार ६३६ हेक्टरमा झरेको छ। त्यसैले उत्पादन वृद्धिको श्रेय मुख्यतः उत्पादकत्वमा सुधार हुनु हो। औसत उत्पादकत्व अहिले ४.१९ मेट्रिक टन प्रति हेक्टर पुगेको छ, जुन अहिलेसम्मकै उच्च बिन्दु हो।
प्रदेशगत उत्पादन विश्लेषण गर्दा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा वृद्धि देखिएको छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशमा नकरात्मक वृद्धि देखिएको छ। रुकुम पश्चिम, नवलपरासी पूर्व र लमजुङमा क्षेत्रफल वा उत्पादन घट्दा समग्रमा ती प्रदेशहरूको योगदान घटेको मन्त्रालयले जनाएको छ।
कुल मिलाएर हेर्दा, सरकारी प्रयास र उत्पादन वृद्धिको आँकडा उत्साहजनक देखिए पनि आत्मनिर्भरता अझै टाढाको सपना हो। आयात घटाएर स्वदेशी उत्पादनमा जनस्तरको विश्वास र नीति–कार्यान्वयनको एकरूपता नै दीर्घकालीन समाधान हो भन्नेमा विज्ञहरूको जोड छ।


