Banijya News

कुल जीडीपीको एक चौथाई हिस्सा रेमिट्यान्सको

1
1.1K Shares

कुल जीडीपीको एक चौथाई भार रेमिट्यान्स बानेपालको आर्थिक संरचना पछिल्ला दुई दशकमा गहिरो रुपान्तरणको घेरामा परिरहेको छ। उत्पादन, व्यापार, रोजगारीजस्ता मूल आर्थिक चालकहरूभन्दा पनि आज देशको अर्थतन्त्रको इन्धन वैदेशिक रोजगार र त्यसबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) बनिसकेको छ। तथ्यांकहरू यस यथार्थतर्फ औंल्याउँछन्—पछिल्लो वर्ष मात्र १६ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ, जुन मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को झन्डै २६ प्रतिशत हिस्सा हो।

२०५७/५८ सालमा मात्र ४७ अर्ब रुपैयाँ विप्रेषण आउँथ्यो, जसले जीडीपीको १० प्रतिशत हिस्सा ओगटेको थियो। त्यही रेखाबाट सुरुवात भएको निर्भरताको यात्रा अहिले ५० लाखभन्दा बढी नेपाली श्रमिकको पसिनामा उभिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले वैशाखमा सार्वजनिक गरिसकेको छ। सोही अनुसार, रेमिट्यान्सको योगदान चौथाइ हिस्सा भन्दा बढी हुने निश्चितप्रायः देखिन्छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल भन्छन्, “रेमिट्यान्स विदेशी मुद्रामा आउँछ, जुन बैंकिङ प्रणालीमा रुपान्तरण भई बजारमा तरलता प्रदान गर्छ। यही पैसाले खपत बढेको छ र अर्थतन्त्रको पहिया घुमिरहेको छ।” तर उनले यतिमा मात्रै नअडिन आग्रह गर्छन्। दीर्घकालीन विकासको आधार भनेको देशभित्रै रोजगारी सिर्जना र उत्पादन वृद्धि हो, जुन अहिलेको ‘रेमिट्यान्स–केन्द्रित’ मोडलमा अभाव देखिन्छ।

रेमिट्यान्सका कारण धेरै नेपाली परिवारको चुलो बलिरहेको छ। तर समस्या के छ भने, यो विप्रेषण अधिकांश उपभोगमै खर्च हुने गरेको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको २०७८ को एक अध्ययनअनुसार, प्राप्त रेमिट्यान्समध्ये ९० प्रतिशत उपभोग र बाँकी १० प्रतिशत मात्रै बचत वा लगानीमा जान्छ।

यो तथ्यले देखाउँछ—आय बढे पनि देशको पूँजी निर्माणको अवस्था स्थायीतर्फ उन्मुख छैन। उदाहरणका लागि, चालु आर्थिक वर्षको पहिलो १० महिनामै ३२ अर्ब रुपैयाँ बराबरको धान–चामल आयात भएको छ। अघिल्लो वर्षको तुलनामा यो ८१ प्रतिशतले वृद्धि हो। कृषिमा आधारित अर्थतन्त्र भनिए पनि मुलुकको खाद्यान्नमा आत्मनिर्भरता अझै अपुरो छ।

२०७९ सालमा लागू गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनले आन्तरिक रेमिट्यान्स (देशभित्रको विप्रेषण कारोबार) पूर्णरूपमा बन्द गर्‍यो। यसले ग्रामीण भेगमा चलिरहेको आर्थिक प्रवाहमा ठुलो झट्का पुर्‍यायो। भुक्तानी सेवा प्रदायक कम्पनीहरूका अनुसार, आन्तरिक रेमिट्यान्स बन्द भएसँगै ६० प्रतिशत कम्पनी सञ्चालनविहीन भइसकेका छन्।

त्यसअघि देशभित्रै काम गर्ने शिक्षक, प्रहरी, कर्मचारी, कामदार आदिले आन्तरिक रेमिट्यान्समार्फत घर परिवारलाई पैसा पठाउने व्यवस्था सहज थियो। अहिले त्यो मार्ग बन्द हुँदा बैंकमा पुग्न नसक्ने वर्ग आर्थिक सेवाबाट वञ्चित भइरहेका छन्।

रेमिट्यान्स कम्पनीहरू र बैंकले प्रविधिको माध्यमबाट सेवा सुधार गरिरहेका छन्। खातामा सिधै पैसा पठाउने, मोबाइल वालेटमा रकम प्रयोग गर्न सकिने र डिजिटल पुँजी प्रवाहले बैंकिङ पहुँच बढाएको छ। आईएमई रेमिटका सीईओ श्याम लामिछानेका अनुसार, “अब नगद लिन जानु पर्दैन, पैसा पठाएकै क्षणमा खातामा आउँछ। यो प्रविधिले पारदर्शिता र विश्वास दुबै बढाएको छ।”

यस प्रविधिगत सुधारकै कारण अवैध माध्यमबाट हुने हुन्डी कारोबारमा उल्लेखनीय कमी आएको बताइन्छ। बैंकहरूको सक्रियता र नियामक निकायको अनुगमनका कारण अब रेमिट्यान्सको ठूलो हिस्सा आधिकारिक प्रणालीमार्फतै भित्रिरहेको छ।

आजको यथार्थमा, रेमिट्यान्स नेपाली अर्थतन्त्रको मेरुदण्डजस्तै देखिन्छ। तर दीर्घकालीन दृष्टिमा यसमा भर पर्नु समाधान होइन, केवल समय कटाउने सहारा मात्रै हो। विदेशी कामदारको पसिनाले तत्काल राहत दिए पनि मुलुकभित्र उत्पादन, रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता नहुँदासम्म नेपालको आर्थिक आधार बलियो हुन सक्दैन।

1

Scroll to Top