प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको हो ।
सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुरबाट काठमाडौं जहाज उडान ढिला गरेको आक्रोशमा जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।
उता साह पक्राउ परेसँगै राजपा नेपालले बुधबार बिहान उनको रिहाइको माग गर्दै एक घण्टा लामो चक्काजाम गरेको हो । राजपा नेपाल धनुषाले करिब एक सयको संख्यामा जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले बिहान ८ बजेदेखि ९ बजेसम्म चक्काजाम गरेका थिए ।


