चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक भएको दिन आज आइतवार सेयर बजार ६३. २४ अंकले बढेको छ । यस दिन नेप्से २.९२ प्रतिशतले बढेर २२२७.१६ बिन्दुमा पुगेर बन्द भएको हो । मौद्रिक नीतिले अहिलेको व्यवस्थालाई यथावत् राखेर सेयर लगानीको बारेमा छुट्टै मार्गदर्शन बनाउने उल्लेख गरेको छ ।
आज एक करोड २० लाख दुई हजार कित्ता सेयर चार अर्ब ३७ करोड ५१ लाख रुपैयाँमा कारोवार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
आज सबै समूहको सेयर बढेकोमा बैंकिङ, बीमा, व्यापार र विकास बैंक समूहको सेयर उच्च अंकले उकालो लागेको छ । बजारसँगै कारोवार रकममा पनि निकै सुधार आएको छ ।
आज किसान लघुवित्त, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई बैंक र कालिञ्चोक दर्शन प्रालीको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।


