हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिरेको छ । हिमाल आइरनले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
हिमालको ८ करोड १२ लाख रुपैयाँ बक्यौता रहेकोमा उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार राति विद्युत् लाइन जोडिएको सिलवालले जनाए । प्राधिकरणले उद्योगको लाइन गत शुक्रबार काटेको थियो । उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्ने जनाएको छ ।
सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको (बोर्ड) बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो । प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट बिजुली उपभोग गर्नेलाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ । जति महिनाको छुट बिल जारी गरिएको हो, त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाए ।


