सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गर्न लागेको छ। अर्थ मन्त्रालयले तयार पारेको बजेटमा उक्त कार्यक्रमलाई प्राथमिकता दिँदै बजेट छुट्याउन लागिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुरुमा ८३ अर्ब रुपैयाँको बजेट सिलिङ पठाइएको थियो, जुन अघिल्लो वर्षको ८६ अर्बभन्दा ३ अर्बले कम थियो। तर, स्वास्थ्य बीमामा बजेट अपुग भएको र मन्त्रालय अन्तर्गतका खर्चहरू बढेको भन्दै अन्ततः बजेट १३ अर्बले वृद्धि गरियो र कुल ९६ अर्ब रुपैयाँ पुर्याइयो।
बजेटमा संघीय राजधानीमा केन्द्रित विशिष्ट उपचार कार्यक्रम, सातै प्रदेशमा क्यान्सर तथा जलन उपचार सेवा विस्तार, मानव अंग प्रत्यारोपण सेवा प्रदेश अस्पतालसम्म विस्तार गर्ने योजना उल्लेख गरिएको छ।
त्यस्तै, मधेश प्रदेशमा किड्नी सेन्टर र न्यूरो अस्पताल स्थापना, स्वास्थ्य बीमा सुधार, बक्यौता शून्यमा झार्ने योजना, नसर्ने रोगको पहिचान तथा रोकथामका लागि राष्ट्रव्यापी कार्यक्रम, र घर–टोलमै स्वास्थ्य प्रवर्द्धन कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ।


