Banijya News

आठ वर्षे युट्युबरको तीन अर्ब कमाइ

1
1.1K Shares

एजेन्सी

अमेरिकी राज्य टेक्ससका एक जना आठ वर्षीय बालक अहिले चर्चाको चुलीमा छन्। धनाढ्यहरूको सूची प्रकाशन गर्ने फोब्र्स पत्रिकाले यी बालक युट्युबरले सन् २०१९ मा २ करोड ६० लाख डलर (करिब २ अर्ब ९६ करोड रुपैयाँ) कमाएको उल्लेख गरेपछि उनको चर्चा संसारभर छाएको हो। उनलाई फोब्र्सले सन् २०१९ मा सबैभन्दा बढी कमाउने युट्युबर घोषणा गरेको छ। यी आठ वर्षीय बालकको नाम हो, र्‍यान काजी। उनको युट्युब च्यानल ‘र्‍यान्ज वल्र्ड’को २ करोड ३० लाखभन्दा बढी सब्सक्राइबर छन्। उनी आफ्नो च्यानलमा खेलौनाबारे बताउँछन्, तिनको समीक्षा गर्छन्। सन् २०१८ मा र्‍यानले २ करोड ४० लाख डलर कमाएका थिए। गत वर्ष पनि उनी युट्युब च्यानलमार्फत सबैभन्दा धेरै कमाउने व्यक्ति थिए। यस वर्ष पाँच वर्षीया रुसी बालिका अनास्तासिया राद्जिन्स्काया धेरै कमाउने युट्युबरको सूचीमा तेस्रो भएकी छिन्। फोब्र्सका अनुसार युट्युबबाट उनले १ करोड ८० लाख डलर आम्दानी गरेकी छिन्। काजीको युट्युब च्यानल विश्वप्रसिद्ध हुनुमा आमा लोन गुआनको प्रमुख हात छ। पूर्वशिक्षिका लोनले नै ‘र्‍यान्ज वल्र्ड’ युट्युब च्यानल सिर्जना गरेकी हुन्। गुआन परिवारको चार वटा कम्पनी छ। त्यसको जिम्मेवारी पनि लोनकै काँधमा छ। उनलाई श्रीमान् सियोनले सहयोग गर्छन्। उनीहरूका तीन वर्षीया जुम्ल्याहा छोरी पनि छन्। र्‍यानकै युट्युब च्यानलको कमाइबाट गुआन परिवारले दुइटा घर किनिसकेको छ भने थुप्रै सम्पत्ति पनि जोडिसकेको छ। 

1

Scroll to Top