पुस २९, काठमाडौं ।
भारत सरकारद्वारा आयात तथा निर्यात पारवहनमा सहजता ल्याउन बिराटनगर महानगरपालिकामा निर्माण भएको (एकीकृत जाँच केन्द्र) आइसिपी पूर्णरुपमा तयार भएको छ । निमार्ण सम्पन्न सँगै माघको पहिलो साता नेपाललाई हस्तान्तरण गर्ने तयारी भारत सरकारको छ । कुनैपनि अवरोध नभएमा वा नयाँ परिवेश सृजना नभएमा भारतसरकारले नेपाललाई माघ ७ गते आइसिपी हस्तान्तरण गर्ने भित्री तयारी भएको छ ।
भेडियारीमा निर्माण गरिएको आइसिपी १ सय २९ विगाह क्षेत्रफलमा फैलिएको छ । त्यसैगरि भवन निर्माण भएको स्थलबाहिर पनि जाँच केन्द्रको ४० बिगाह क्षेत्रफल जमिन छ । जसबाट सडक निकालिएको छ । हाल दुइ लेनको सडक र पछि आवश्यक्ता अनुसार ६ लेनसम्मको हुने बताइएको छ । भारतको सीमाक्षेत्र र नेपालको सीमा क्षेत्र १० गजालाई सीमा बनाएर जाँच केन्द्र निर्माण गरिएको छ ।
यसबीच, आयात तथा निर्यातमा एकद्धार लागु गर्ने हकमा भारततर्फको आइसिपी र नेपाल आइसिपीबीचको दुरी बढीमा ३ सय मिटरको रहेको छ । नेपाली भित्रने पयर्टकीय सवारी, मालवहाक सवारी भारततर्फको जाँच केन्द्र हुदै नेपालीतर्फको जाँच केन्द्रमा प्रवेश गर्नेछ ।
सोही सवारीलाई धर्मकाटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी ब्यवस्थापन गरिन्छ । सोही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहीबाट उद्योगीहरुले सवारीसाधन आफु अनुकुल बाहिर निकाल्न सक्नेछन् ।
केन्द्र भित्र विभिन्न कार्यालयका लागि फरक फरक भवन निर्माण गरिएको छ । मुख्य प्रशासनिक भवनसंगै मालसमान राख्न गोदाम घर, पशु तथा कृषि क्वारेन्टाइन जाँचकेन्द्र, बैकिङ भवन, सुरक्षा ब्लक, विद्युत गृह, चमेना गृह रहेकाछन् । निर्माण गरिएको पार्किङस्थलमा एकैपटक १ सय ३० वटा मालवहाक सवारी राख्न ठाउँ छ ।
सन् २०१७ मा भारतको गुजरातस्थित दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिले जाँच केन्द्रको निर्माण सुरु गरेको हो । १ सय १४ करोड भारतीय रुपैयामा भारत सरकारले सन् २०१७ मार्चमा दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रा.लिसंग निमार्ण सम्झौता गरेर निमार्णको जिम्मा दिएको थियो । सन् २०१८ भित्रै यसको निर्माण कार्य सम्पन्न गरिसक्नु सम्झौता भएपनि प्राकृतिक विपद् बाढीका कारण केहीसमय ढिलो भएको बताइएको छ। यद्धपी, सन् २०१९ को सेप्टेम्बरमै सञ्चालनको तयारी अवस्थामा रहेपनि करिब तीनमहिना ढिलो गरि जाँच केन्द्र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हो ।


