०७ फागुन, काठमाडौं ।
चीनमा फैलिएको कोरोना भाईरका कारण चिनको वुहान बाट उद्धार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका नेपालीमा कोरोना भाईरस नेगेटिभ पाईएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका रञ्जित शाहको नेतृत्वमा गएको टोलीले आइतबार नमुना संकलन गरेको थियो । नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलबार बेलुकासम्म १ सय ७५ जना मध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको थियो ।
उनीहरूको ‘थ्रोट स्वाव’ र ‘नेजल स्वाव’ गरिएको थियो । परीक्षण गरिएकामध्ये सबैको नतिजा सामान्य देखिएपछि उनीहरू कोरोना भाइरस मुक्त रहेको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
क्वारेन्टाइनमा रहेका १ सय ३५ पुरुष र ४० महिला छन् । स्रोतका अनुसार संकलन गरिएको नतिजामा परीक्षण गरिएका ७० प्रतिशत बढीको नतिजा नेगेटिभ आएको देखिन्छ । सबै परीक्षणको नतिजा आइसकेपछि रिपोर्टको सबै नतिजा आज बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ ।
नमुना संकलनका लागि सरुवा रोग विशेषज्ञ, कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. शाहसहितको टोली पुगेको थियो । टिममा भाइरोलोजिस्ट डा. विमलेश झा, कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाद शाह, सुनी डंगोल, माइक्रोबायोलोजिस्ट स्विटी उपाध्याय, मेडिकल ल्याब टेक्निसियन स्मृति श्रेष्ठ खटिएका थिए ।


