फागुन ०९, काठमाडौं ।
एक महिनामा पुँजी बजार मापक नेप्से १३७.०९अङ्कले बढेको छ । नेप्से बढेर १४३४.५७ अङ्कमा पुगेको हो । गत महिनाको माघ ९ गते १२९७.४८ अङ्कमा रहेको नेप्से निरन्तर बढेर १४३४.५७ अङ्कमा पुगेको हो ।
नेप्सेसँगै कारोबार रकमले पनि इतिहास रचेको छ । यो साता ११ अर्ब २० करोड ५४ लाख ६४ हजारभन्दा बढीको सेयर किनबेच हुन पुग्यो । कारोबार रकममा आएको सुधारले पनि सेयर बजारमा उत्साह थपेको छ । गत साता ६ अर्ब ६९ करोड ८३ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुन पुगेको थियो । कारोबार रकममा आएको सुधारसँगै एक महिनादेखि सेयर बजार उकालो लागेपछि लगानीकर्तामा उत्साह छाएको छ । नेप्से अझै बढ्ने अपेक्षा उनीहरूले गरेका छन् ।
गत कात्तिक २० गतेदेखि अनलाइन कारोबार सुरु भएकाले पनि लगानीकर्तालाई सेयर खरिद(बिक्री गर्न सहज भएको नेप्सेको भनाइ छ । बिहीबार भएको कूल कारोबारमध्ये ३३ प्रतिशत सेयर खरिद बिक्री अनलाइनबाट नै भएको हो । साताको अन्तिम कारोबारका दिन हिजो बिहीबार एकै दिन २ अर्ब ७८ करोड ५० लाख ४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार नेप्से १९.६३ अङ्कले बढेर १३६३.९७ अङ्कमा पुगेको थियो । सोमबार आइतबार भन्दा बढी अर्थात ३४.२६ अङ्कले बढेर १३९८.२४ अङ्कमा पुगेको थियो । साताको तेस्रो दिन मङ्गलबार पनि नेप्से १.७७ अङ्कले बढेर १४००.०१ अङ्कमा पुगेको थियो । साताको चौथो दिन बुधबार पनि नेप्से ५.२४ अङ्कले उकालो लाग्न पुग्यो । उक्त दिन नेप्से बढेर १४०५.२५ अङ्कमा पुग्यो । साताको अन्तिम कारोबार दिन बिहीबार पुनः नेप्से २९.३२ अङ्कले १४३४.५७ अङ्कमा पुगेको छ । साता शिवम् सिमेन्टको सेयरको माग बढी हुन पुग्यो। साताभर शिवम् सिमेन्टको सेयर बढी किनबेच भएको छ । यो साता हिमालयन डिस्टिलरीको सेयरको माग पनि अत्याधिक भएको छ । उक्त कम्पनीको बढी रकमको सेयर किनबेच भएको छ । बैंक, वित्त कम्पनीबाहेकका अरू सूचीकृत कम्पनीले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । ती कम्पनीले पनि नाफा बढाएकाले पनि लगानीकर्ता उत्साहित हुन पुगेका हुन् ।


