काठमाडौं, २४ चैत ।
नेपाल राष्ट्र बैङ्कले आन्तरिक ऋण उठाउने प्रक्रिया सुरू गरेको छ । अर्थ मन्त्रालयमा पठाइएको आन्तरिक ऋण कार्यतालिका प्रस्ताव स्वीकृत भएर आएपछि राष्ट्र बैङ्कले आन्तरिक ऋण उठाउने प्रक्रिया अगाडि बढाएको हो । यही अनुसार नेपाल राष्ट्र बैंकले सोमबार २५ अर्बको नयाँ ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारका लागि ट्रेजरी बिलमार्फत २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो । यसबाहेक परिपक्व भएको ६ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरण गर्ने छ ।
सरकारले चालु आर्थिक बर्ष १ खर्ब ९५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउँदैछ । यसमध्ये सोमबार २५ अर्बको ऋण उठाउन लागेको हो । १८२ दिनको २० अर्ब र ३६४ दिनको ५ अर्बको ट्रेजरी बिल जारी गर्दैछ । यो साता ५५ अर्ब ४० करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ ।
आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत् नेपाल सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । त्यस्तो ऋण ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको माध्यमद्वारा उठाउन सकिने विकल्प सरकारसँग थियो ।
सोही बमोजिम नेपाल राष्ट्र बैङ्कले अर्थ मन्त्रालयमा बजारमा तरलताको अवस्था हेरी ट्रेजरी बिल र विकास ऋणपत्र जारी गर्ने कार्यतालिका बनाएर पठाएको थियो ।


