२४ चैत काठमाडौं ।
सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । उनी अर्थमन्त्री निकट मानिन्छन् ।
पूर्व डेपुटी गभर्नर अधिकारी अहिले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालिन गभर्नर डा. युवराज खतिवडाको पालामा उनी सहयोग गर्ने र निकट रहेका व्यक्ति मानिन्छन् । उनी अर्थमन्त्रीका नजिक छन् ।
राष्ट्र बैंकमा ५ वर्षे कार्यकाल पुरा गरी डा. चिरञ्जीवि नेपाल चैत ४ गते राष्ट्र बैंकबाट बिदा भएका थिए । गभर्नर नियुक्तीको लागि मन्त्रिपरिषद्ले गत चैत ९ गते अर्थमन्त्री डा. युवराज खतिवडाकोे संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।
अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको समितिले कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वअर्थसचिव डा राजन खनाल र नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो।


