काठमाडौं, ९ बैशाख ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले अहिलेको संकट सामना गर्नको लागि राहत कार्यक्रमको घोषणा गरेको छ । कोरोना महामारीको कारण नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक लगायत सबै क्षेत्रमा गम्भीर असर पुगेको समय परिसंघका अध्यक्ष पवन गोल्याणको अध्यक्षतामा बसेको बैठकले यस्तो घोषण गरेको हो ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीहरुका लागि वैशाख मसान्तसम्ममा चुक्ता गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानीमा साधारण ब्याजको १० प्रतिशत रकम छुट दिने निर्णय गरेको छ । यस्तै, बिकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको र फाइनान्स कम्पनीले २० लाख रुपैयाँसम्मको साना तथा मझौला उद्यम व्यवसायका लागि प्रदान गरेको कर्जामा १ प्रतिशत व्याज घटाउने निर्णय गरेको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको चालू तथा संचालन खर्च उल्लेख्य रुपमा घटाउनको लागि परिसंघले विशेष पहल गर्ने जनाएको छ । त्यस्तै नेपालको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रमा परेको असरबारे अध्ययन गर्न विशेष अध्ययन कार्यदल गठन माग गरेको छ ।
यता सरकारलाई सुझाव स्वरूप परिसंघले महिलाको नामबाट जम्मा भएको १५ लाख रुपैयाँसम्मको निक्षेप जम्मा गर्दा त्यसमा सम्पत्ति शुद्धीकरणको व्यवस्था आकर्षित नहुने तथा अहिलेको जस्तो केवाईसी तथा कर चुक्ता सम्बन्धी र सम्पत्तिको स्रोत खोज्ने व्यवस्था हटाउने लगायतका अन्य सुझाव पेश गरेको छ ।
साथै विदेशबाट ५ लाख डलर ल्याए नेपालका मर्चेन्ट बैंकिङ वा क्यापिटल मर्चेन्ट कम्पनीमार्फत नेपालको पुँजी बजारमा लगानी गर्न चाहेमा दिने गरी नीति बनाउन पनि संगठनले माग गरेको हो । यस्तो रकमको लकिङ पिरियड २ देखि ३ बर्ष कायम गर्न पनि भनिएको छ ।


