वैशाख १९, काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मे दिवस अर्थात विश्व श्रमिक दिवसको अवसरमा कविता लेखेर सार्वजनिक गरेका छन् । बिहान साढे दुई बजे उनले लेखेको ’आँसु खसाउनु पर्दैन’ कविता सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको ‘आँसु खसाउनु पर्दैन’ शीर्षकमा ओलीद्वारा लिखित कविता :
अब आँसु खसाउनु पर्दैन,
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन।
०००
सामाजिक न्याय र समानता
अधिकारसम्पन्न जनता
मेची-काली पहाड-तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन।
०००
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा हुनु पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन।
मे १, २०२० बिहान २:३० बजे


