Banijya News

अर्थतन्त्र ’कोमा’मा जाने स्थितिमा पुगेकोले रहातको प्याकेज ल्याउन उद्योगीको माग

1
1.1K Shares


नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको भन्दै तत्काल राहतको कार्याक्रम ल्याउन सरकारसँग माग गरेको छ । महासंघले नेपालको अर्थतन्त्र ’कोमा’मा जाने स्थितिमा पुगेको भन्दै पुर्नउत्थानका कार्यक्रम ल्याउन माग गरेको हो । उद्योगीले ब्याज, बिजुली, सुरक्षा लगायतको माग राख्दै सरकारको ध्यानकर्षण गराएको हो । बिहीबार महासंघले प्रदेश च्याप्टर र स्थानीय उद्योगीसँग छलफल गरेपछि सरकारलाई यस्तो सु्झाव दिएको हो ।

छलफलमा उद्योग व्यवसाय बचाउने कार्यमा बैंक तथा उद्योगी व्यवसायीबीच सहकार्य हुनुपर्ने, विद्युत् डिमाण्ड चार्ज छुट दिनुपर्ने, अतिसंवेदनशील क्षेत्रलाई बढी निगरानीमा राखेर सामान्य जिल्लामा आन्तरिक रूपमै भए पनि आर्थिक गतिविधि चालू गर्नुपर्ने माग गरेको छ ।

लकडाउनको समयको बैंक ब्याज मिनहा गर्नुपर्ने, महासंघले सरकारमा पेस गरेको सुझाव कार्यान्वयनमा निरन्तर दबाब दिनुपर्ने, कृषि उत्पादन संकलन, सुरक्षित भण्डारण, आवश्यक मल बीउबिजनको पर्याप्त आपूर्ति गर्न दबाब दिनुपर्ने र निजी क्षेत्रलाई पनि मल आयात गर्ने सुविधा दिनुपर्ने, अहिलेसम्म संकलन भएको आयकर अन्य देशले जस्तै नेपाल सरकारले पनि कर तिरेका उद्योगी व्यवसायीलाई फिर्ता दिनुपर्ने सुझाव छलफलमा आएको महासंघले जनाएको छ ।

त्यसैगरी, लकडाउनको अवधिमा बैंकहरूले सेवा शुल्क र नवीकरण शुल्क लिने कार्यलाई बन्द गर्नुपर्ने, उद्यमी व्यवसायीमाथि सुरक्षा निकायबाट भएका अभद्र व्यवहार रोक्नुपर्ने माग गरेको छ ।
अर्थतन्त्रलाई बचाउन सरकारले आगामी बजेटमार्फत् पर्याप्त प्याकेज ल्याउन आग्रह गरेको छ । महासंघले उद्योगी व्यवसायीका कुरालाई नसुनीएमा आउँदा दिनमा मुलुक आर्थिकरूपमा निकै ठूलो समस्यामा जान सक्ने चेतावनी दिएको छ ।

बैंक ब्याजको टुंगो नभएसम्म अवस्था सामान्य भए पनि उद्योग व्यवसाय चलाउन नसकिनेलगायतका सुझाव व्यवसायीले दिएको महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

1

Scroll to Top