निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । शिक्षा सम्बद्ध सात वटै सस्थाले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै शैक्षिक सस्था खोल्न सरकारसित माग गरेका हुन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारसँग माग गरेका हुन् ।
‘सामाजिक दूरी कायम राखी आगामी जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न र शिक्षक कर्मचारीहरु विद्यालयमा उपस्थित भई नयाँ शैक्षिक सत्रका लागि योजना बनाउनुका साथै शिक्षक कर्मचारीहरुलाई तालिम र अभिमुखीकरणका लागि व्यवस्था मिलाउन नेपाल सरकार समक्ष अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
संयुक्त विज्ञप्तिमा कोरोनाले सबै क्षेत्रजस्तै निजी क्षेत्रका २ लाख शिक्षक कर्मचारीको रोजगारी र शैक्षिक क्षेत्र धराशायी हुन नदिन तत्काल यी कार्य गर्दा अभिभावकलाई पनि राहत मिल्ने उल्लेख छ ।
विज्ञप्तिमा प्याब्सन अध्यक्ष टीकाराम पुरी, एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटा, राष्ट्रिय अभिभावक महासंघ अध्यक्ष धर्मदत्त देवकोटा, इस्टु अध्यक्ष होमकुमार थापा, संस्थागत विद्यालय अभिभावक संघ अध्यक्ष सुवास भण्डारी, अभिभावक संघ अध्यक्ष केशव पुरी, नेपाल राष्ट्रिय अभिभावक संघ अध्यक्ष यादवप्रसाद शर्माको हस्ताक्षर छ ।


