लिम्पियाधुरासम्मको भूभाग समेटिएको नक्सालाई संविधानको अनुसूचिमा राख्न नेपालको संसदले गरेको संविधान संशोधनलाई भारतले आपत्ति जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले नयाँ नक्साका विषयमा संविधान संशोधन गरेर सीमा क्षेत्रका बाँकी मुद्दाहरूको बारेमा वार्ता गर्नु वर्तमान समझदारीको पनि उल्लंघन गरेको आरोप लगाएको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले यो मुद्दामा आफ्ना कुरा पहिले नै स्पष्ट गरिसकेका छौँ । यस खालको कृत्रिम कदम ऐतिहासिक तथ्यमा आधारित छैन । यो कदम सीमा मुद्दामा आपसी संवाद र समझदारीको विरुद्धमा छ ।’
“नेपालको प्रतिनिधिसभाले नयाँ नक्सालाई परिवर्तनका लागि संविधान संशोधन विधेयक पारित गरेको छ । जसमा भारतीय भूभाग समेटिएको छ । हामीले यस विषयमा हाम्रो पोजेसिन यसअघि स्पष्ट पारेका छौं ।“ विज्ञप्तिमा भनिएको छ ।
“भूभागको कृत्रिम विस्तार गरी गरिएको दाबी कुनै ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैन र यो मान्य छैन, विज्ञप्तिमा भनिएको छ, “यसले हाम्रो सीमा क्षेत्रका बाँकी विवादलाई समाधान गर्न वार्ता गर्ने वर्तमान समझदारीको उल्लंघन गरेको छ ।“
भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाल र भारतबीच घनिष्ट सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताउनु भएको छ ।
उता, भारतले लिपुलेक क्षेत्रमा एक तर्फीढंगले सडक निर्माण गरेको विषयलाई लिएर नेपालले गरिरहेको विरोध विदेशीको ईशारामा भएको भनेर विवादास्पद टिप्प्णी गरेका भारतीय सेना प्रमुख भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आफ्नो यसअघिको भनाईलाई केही सच्याउँदै दुई देशबीच घनिष्ट सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताएका छन् ।
देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतबीचको पछिल्लो सीमा विवादलाई लिएर राखेको जिज्ञासामा नरवणेले त्यस्तो धारणा राखेका हुन् ।

‘हामीहरुको नेपालसँग अत्यन्त घनिष्ट सम्बन्ध छ । हामीहरुबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र परम्परागत सम्पर्क छ । जनस्तरमा पनि त्यत्तिकै बलियो सम्पर्क छ । हामी बीचको सम्बन्ध सँधै बलियो रहँदै आएको छ र भविष्यमा पनि रहिरहनेछ’ भारतीय नवरवणेलाई उद्धृत गर्दै भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । नेपालले सन् १८१६ को सुगौली सन्धीलाई आधार बनाएर लिम्पियाधुरा सम्मको भूभागलाई समेटेर नयाँ राजनीतिक नक्शा सार्वजनिक गरिसकेको छ । संविधान संशोधन प्रति विशेष चासो राखिरहेको भारतले नेपालले सार्वजनिक गरेको नक्शा आफूलाई आमान्य हुने बताउँदै आएको छ ।



