असार १९, काठमाडौं ।
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्पन्न गर्ने म्याद थप भएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने म्याद थप गरिएको जानकारी दिए ।
२०७६ चैत १७ गते सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार यही असार मसान्त सम्ममा विमानस्थल सञ्चालनमा ल्याउने भनिएकोमा निर्धारित समयमा निर्माण कार्य सम्पन्न नभएपछि उक्त म्याद थप गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ नियन्त्रण र रोकथामका लागि भएको लकडाउनका कारण तोकिएको समयमा काम गर्न नसकिएको मन्त्री भट्टराईले स्विकार गरेका छन् । लकडाउनको अवधिमा मन्त्रालयले गरेका कामबारे जानकारी दिन २०७७ पुस १६ सम्ममा विमानस्थल निर्माण सम्पन्न गर्ने र निर्माण सम्पन्न भएको तीन महीनामा विमानस्थल सञ्चालनमा ल्याउने भनाई उनकोे छ ।
आयोजना निर्माण गर्ने प्राविधिकहरु विदेश रहेकाले उनीहरु निर्धारित समयमा नेपाल आउन नसक्दा काम रोकिएको मन्त्री भट्टराईले बताए । आयोजनाको म्याद थपिएको मितिमा विमानस्थल निर्माण सम्पन्न भएमा उडानको आन्तरिक तयारीका लागि थप तीन महीना लाग्ने भट्टराईले बताए । त्यसो हुँदा २०७७ चैतमा मात्रै विमानस्थल सञ्चालनमा आउन सक्छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । लकडाउन लम्बिदै जाँदा सहजिकरण स्वरुप मन्त्रालयले आयोजनाको म्याद थप गरेको होे ।


