काठमाडौं- आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ । यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ ।
हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।
सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिनेगर्छन् । असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ ।
आधुनिक यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधीको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमुर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन, न त गुरुदक्षीणाका रुपमा औंला नै काटेर दिनुपर्ने वलिदान नै । विश्वस्तरका शिक्षाकालागि संस्थागतरूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् ।
व्यास जयन्ती
गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।
गुरु ब्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जिवन्त पात्र पनि हुन्, महाभारतका भिष्म र ब्यास नाताले सौतेनी दाजुभाई हुन् । राजा शान्तनुले सत्यवतीलाई बिवाह गर्दछन्, सत्यवतीका पिता माझी हुन्छन्, राजाले ससुरालाई सत्यवतीका तर्फवाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्दछन् र यस अघि नै सान्तनुले पुत्र भिष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भिष्मले आफ्नो पिताको वाचा थाहापाएर पितालाई वचनमा अडिग रहनका लागि आफू स्वयमले राजकुमार वाट हटेर सिंहासनमा कुनै दावी नगर्ने घोषणा गरेका हुन् ।
सबै वेद, श्रीमद भागवत अनि १८ पुराणका सर्जक ब्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।


