Banijya News

बस्तीमाथिबाट खसेको पहिरोले बैतडीका १० घर जोखिममा

1
1.1K Shares

वर्षा सुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याउन थालेको छ । पुर्चौँडी नगरपालिका-७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पुर्‍याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए ।

गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ । उनले भने, ‘बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका १० घर जोखिममा परेका छन् ।’
 
पहिरोले घरमा क्षति पुर्‍याएपछि मङ्गल ऐरको परिवार विस्थापित भएर अहिले अर्को घरमा बसिरहेको छ । यस्तै, पुर्चौँडी-३ मा गएरातिको वर्षाले २ पानीघट्ट, एक कल्भर्ट र खेतबारीमा क्षति पुर्‍याएको छ । 

नगरपालिकाको वडा नं ३ स्थित सपैया खोलामा रहेका २ घट्ट र १ कल्भर्ट बाढीले बगाएको स्थानीय खेमराज जोशीले जानकारी दिए ।

सपैयाखोलामा रहेको कल्भर्ट बगाउँदा नगरपालिकाको केन्द्र, वडा कार्यालय र डिलाशैनी गाउँपालिका आवतजावतमा समस्या भएको छ ।
  
दार्चुलाको नौगाड गाउँपालिका-४ कपडेमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । गएरातिको वर्षाले वीरकोर खोलामा आएको बाढीले एउटा घट्ट बगाएको छ भने वीरकोर खानेपानी योजना पूर्णरूपमा नष्ट गरेको स्थानीय कालुसिंह ठगुन्नाले जानकारी दिए । यस्तै, पहिरोका कारण हर्क ठगुन्ना, देवसिंह ठगुन्ना र प्रेमसिंह धामीको घर जोखिममा परेका छन् ।

यसका साथै नौगाड-४ मा होपरी चट्केमा रहेको डाडाबाग आधारभूत विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्न थालेकाले विद्यालय उच्च जोखिममा परेको स्थानीय कुमार ठगुन्नाले जानकारी दिए ।

साथै होपरीको ठाउँठाउँमा पहिरो जाँदा आवतजावतमा पनि समस्या भएको छ । यही असार १४ गतेको पहिरोले होपरीगाड लघुजलविद्युत्को नहर भत्किएपछि हालसम्म पनि उक्त क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुनसकेको छैन । सोही नहर भत्किएर पहिरो जाँदा होपरीमा दुई जनाको ज्यान गएको थियो भने पाँच घाइते भएका थिए । 

खोलाले बगाउँदा १ महिलाको मृत्यु 

खोलाले बगाउँदा बैतडीमा शनिबार १ महिलाको मृत्यु भएको छ । पुर्चौँडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । जमाडीखोलाले बगाएर ल्याएको अवस्थामा गिरीजाबगर भन्ने स्थानमा महिलाको शव फेला परेको हो । 

उनले भने, ‘मृत महिलालाई खोलाले बगाएर ल्याएको जस्तो छ ।’ शनिबार मध्याह्न स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  रासस 

1

Scroll to Top