असार २२, काठमाडौं ।
दैलेखको नारायण नगरपालिकाका २ जना प्रतिनिधि र ७ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
एक महिला जनप्रतिनिधि ,एक वडा अध्यक्ष र ७ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको दैलेख अस्पतालले जनाएको छ । दुई जना जनप्रतिनिधिहरु दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् भने सामान्य अवस्था रहेका संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा छन् ।
जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएसँगै नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको छ । दैलेखमा हालसम्म क्वारेन्टिनको सुरक्षार्थ खटिएका ३३ जना सुरक्षाकर्मी, ६ जना स्वास्थ्यकर्मी, ११ जना स्थानीय कर्मचारी र २ जना जनप्रतिनिधिमा संक्रमण देखिएको छ ।


