असार २२, काठमाडौं ।
वैदेशिक रोजगार बोर्डको सदस्यमा वैदेशिक रोजगार व्यवसायी हेम गुरुङ र स्वास्थ्य व्यवसायी कैलाश खड्का मनोनित भएका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आईबार एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङ र नेपाली स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई मनोनित गरेका छन् ।
बोर्डमा व्यवसायीको तर्फबाट यसअघि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे र संघको सिफारिसमा कोषाध्यक्ष इन्दिरा गुरुङले बोर्डको प्रतिनिधित्व गरिरहेका छन् । बोर्डमा सदस्य भएका खड्का र गुरुङको कार्यकाल दुई वर्ष हुनेछ । गुरुङ यसअघि पनि बोर्डको सदस्य रहेका थिए ।
दुई वर्षपहिले तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदार माथि आर्थिक भार पारी ठगी गरेको आरोपमा मुद्दा लगाएका स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई मन्त्री यादवले २ बर्षको लागि बोर्डको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन् । मुद्दा दर्ता गरेपछि फरार भएका खड्कासहितका व्यवसायीले आरोप पुष्टि हुन नसकेपछि अदालतबाट सफाइ पाएका थिए।
श्रम मन्त्रीको अध्यक्षता रहने बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल बोर्डमा अध्यक्षसहित २५ जना सदस्य रहेका छन् ।


