असार ३१, काठमाडौं ।
सरकारले कर बढाए पछि महिन्द्राले १९ विद्युतीय गाडी पुरानै मूल्यमा बिक्री गरेको छ । महिन्द्राले बजेटअघि नेपाल भित्र्याएका विद्युतीय इटुओ बुकिङ गरेका ग्राहकलाई पुरानै मूल्यमा हस्तान्तरण गरेकोे कम्पनीले जनाएको छ ।
कम्पनीले २२ लाख ६५ हजार पर्ने गाडी बजेटमा कर बढाएपछि ३३ लाख बराबर पर्ने भए पनि पुरानै मूल्यमा हस्तान्तरण गरेको हो । नेपालमा विद्युतीय गाडी आयात गरी बिक्री गर्ने केही व्यवसायीले सरकारले बजेटमा भन्सार र अन्तःशुल्क बढाएपछि विद्युतीय गाडी आयात गर्नसक्ने अवस्था नै नरहेको बताएका छन् ।
महिन्द्राले महंगो भए पनि विद्युतीय गाडीलाई निरन्तरता दिने बताएको छ । सरकारले थोरै किलोवाटलाई पुरानै मूल्यमा गरेर भन्सार पास गर्न दिने र ५० किलोवाटभन्दा माथिको लागि किलोवाटअनुसार अन्तःशुल्क गर्दा सबैलाई सहज हुने कम्पनीको भनाई रहेको छ । नेपाल सरकारले बजेट मार्फत १० प्रतिशत भन्सार बढाएर ४० प्रतिशत र यसअघि नलगाएको अन्तःशुल्क किलोवाटअनुसार ८० प्रतिशतसम्म लगाएको छ ।


